

कोरोनाबाट सप्तरीका शिक्षकको मृत्यु

धरान – सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका एक शिक्षकको मृत्यु भएको छ । उनको आज बिहान सवा ५ बजे मृत्यु भएको हो ।
सप्तकोशी नगरपालिकस्थित राष्ट्रिय माविमा अध्यापनरत ति ४५ वर्षीय शिक्षकलाई यही १३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनी उच्च रक्तचापबाट पीडित भएको प्रतिष्ठानका सहप्रवक्ता डा चुडामणि पोखरेलले जानकारी दिए । वैशाख महिनाको हालसम्ममा प्रतिष्ठानमा १० जनाको ज्यान गइसकेको छ ।
हेटौँडामा कोरोनाबाट थप एक महिलाको मृत्यु
कोभिड–१९ सङ्क्रमणका कारण हेटौँडाकी एक महिलाको मृत्यु भएको छ ।
कोरोनाबाट हेटौँडा उपमहानगरपालिका–६ की ४१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । ती महिलाको हेटौँडा अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. प्रवीण श्रेष्ठले जानकारी दिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सोमबार भर्ना गरिएको थियो ।
मृतकको सोमबार नै पिसिआर परीक्षण गरिएको थियो । स्वाब दिएपछि उनी घर गएकी थिइन् । श्वासप्रश्वासमा समस्या आएपछि ति महिला उपचारका लागि पुनः अस्पताल भर्ना भएकी थिइन् । उनको मृत्युपश्चात् पिसिआर रिपोर्ट पोजेटिभ आएको डा. श्रेष्ठले बताए ।
योसँगै कोरोनाका कारण हेटौँडा अस्पतालमा चार जनाको मृत्यु भइसकेको छ । आइतबार राति हेटौँडा उपमहानगरपालिका–१ का ५५ वर्षीय पुरुष, सोमबार बाराका एक पुरुष र महोत्तरीकी एक महिलाको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको थियो ।

