आईपीएलका बाँकी सबै खेल मुम्बईमा, फाइनल खेल जूनको पहिलो साता पुग्नसक्ने


अहमदावाद – इन्डियन प्रिमियर लिग (आईपीएल) का बाँकी सबै प्रतिस्पर्धाहरू मुम्बईमा आयोजना गर्ने तयारी गरिएको छ । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) नजिकको स्रोतका अनुसार अहिले यसका लागि आवश्यक तयारी हुँदैछ ।

सोमबार कोलकाता नाइट राईडर्सका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियरलाई कोरोना पोजेटिभ देखिएपछि आईपिएलमा हंगामा मच्चिएको थियो । त्यसयता, कोलकाता र रोयल च्यालेन्जर्स बैंगलोरबीचको म्याच स्थगित भएको थियो ।

बीसीसीआईका अधिकारीहरुका अनुसार यसै साताको अन्त्यदेखि नै आईपिएलका खेल मुम्बईमा सुरु हुनसक्छन् । अर्थात्, कोलकाता र बैंगलोरमा खेल हुनेछैन । त्यस्तै प्लेअफसहित फाइनल प्रतिस्पर्धा यसअघि तय भएको स्थल अहमदावादमा हुनेछैन ।

यी सबै खेल मुम्बईमै हुनेछन् । यद्यपी, यसबारे अन्तिम फैसला आउनै बाँकी छ । बीसीसीआईको यस योजनाअन्तर्गत ८ या ९ मेईदेखि आईपिएलका सबै प्रतिस्पर्धा मुम्बईका तीन रंगशालामा आयोजना हुनसक्छन् । वानखेडे, ब्रेबन र डिवाई पटिल रंगशालमा खेल हुनेछन् ।

वानखेडेमा यसअघि नै सिजनमा १० वटा म्याच आयोजना भइसकेका छन् । मुम्बईमा खेल आयोजना हुने भएसँगै आईपिएलको खेल तालिका पनि हेरफेर हुनसक्छ । फाइनल खेल ३० मेईको साटो जूनको पहिलो साता आयोजना हुनसक्छ ।

प्रतिक्रिया