
एभरेष्ट बैंकको १०३औँ शाखा दमौलीमा स्थापना
दमौली – तनहुँको सदरमुकाम दमौलीमा एभरेष्ट बैंकको शाखा उद्घाटन गरिएको छ । व्यास नगरपालिका-२ मा विस्तार गरिएको शाखाको आज व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेले शुभारम्भ गर्दै बैंकले सहज र सरल सुलभ व्यवसायी तथा सर्वसाधारणलाई सेवा दिन आग्रह गरे।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले राम्रा योजना छनोट गरेर बैंकले लगानी बढाउनु पर्नेमा जोड दिए। तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले कोभिडका कारण अप्ठ्यारोका परेका व्यवसायीलाई राहत दिने खालका योजना ल्याउन आग्रह गरे ।
दमौलीमा विस्तार भएको शाखा १०३औँ शाखा हो । छब्बीस वर्ष पहिला स्थापना भएको बैंकको एघार लाख सन्तुष्ट ग्राहक रहेको बैंकका गण्डकी प्रदेश प्रमुख राजु गौलीले जानकारी दिए । गण्डकी प्रदेशमा बैंकका १० वटा शाखा सञ्चालनमा छ । बैंकले घर कर्जा, सौगात बचत खाता, सवारी साधन कर्जा, नारी बचत खाता, शैक्षिक कर्जा लगायतका सेवा प्रवाह गरिरहेको छ ।



कागजपत्र |
