सातदोबाटोमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु


काठमाडौं– ललितपुरको सातदोबाटो चोकनजिकै स्कुटरले ठक्क्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। काठमाडौं बालाजु बस्ने दोलखा जिरी घर भएकी ७३ वर्षीया बिष्णु माया सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ।

ललितपुर महानगरपालिका–५ सातदोबाटोस्थित सडकमा प्रदेश ३–०२–०१३ नम्बरको स्कुटर शुक्रबार बिहान अनियन्त्रित भई ठक्कर दिँदा पैदलयात्री सुनारलाईको उपचारको क्रममा मृत्यु भएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले बताइन्।

एसएसपी बज्राचार्यका अनुसार ठक्करबाट गम्भीर घाइते भएका सुनारको बिएण्डबि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। त्यस्तै स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा घाइते भएका स्कुटरमा सवार भक्तपुर सूर्यविनायक नगरपालिका–१० नलिन्चोक बस्ने २८ वर्षीय रोशन थापाको सोही अस्पतालमा उपचार भइरहेको एसएसपी बज्राचार्यले जानकारी दिइन्।

त्यस्तै ​मोरङ, केराबारी गाउँपालिका–८ जंगलस्थित सडकमा को ३४ प ९०६९ नम्बरको मोटरसाइकललाई को.१ त ५८४९ नम्बरको ट्याक्टरले शुक्रबार बिहान ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

मोटरसाइकल चालक सोही गाउँपालिका–१० बस्ने ५० वर्षीय नरेश कुमार सोडारीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो।

ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ​दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया