अभिभावकविहिन जुम्ल्याहा दाजुभाइ स्याहार्दै जुनामाया
तनहुँ–बाबुआमाले सानैमा छाडेर गएपछि हजुरआमाको संरक्षणमा रहेका जुम्ल्याहा दाजुभाइको अभिभावक बनेर तनहुँकी एक शिक्षिकाले उदाहरणीय कार्य गर्दै आएकी छन् । भानु नगरपालिलका–२ रिठ्ठाबोट निवासी शिक्षिका जुनामाया कुमालले जुम्ल्याहा दाजुभाइ राम र लक्ष्मण सुनारको अभिभावक बनेर पढाइमा लाग्ने सबै खर्चमा सहयोग गर्दै आएकी हुन् ।
सुस्तमनस्थितिका बाबुआमा दुई छोरालाई छाडेर गएपछि उनीहरुको बिचल्ली भएको थियो । विगतका वर्षदेखि नै उनीहरु लमजुङ भोटेओढारमा एक घरमा हलिगोठालो बसेर काम गर्दै आएको बुझिएको छ । कक्षा २ मा पढ्दै गरेको अवस्थामा अचानक दाजुभाइ विद्यालयमा पढ्न आउन छाडेपछि ती बालकको घरमा पुग्दा दयनीय अवस्था देखेपछि आफूले बालकद्वयको उज्ज्वल भविष्य बनाउने योजनाका साथ अभिभावकत्व लिएको शिक्षिका जुनमायाले बताइन् ।
बाबुआमा छाडेर गएपछि केही समय हजुरआमा माया सुनारले उनीहरुलाई जेनतेन गरी पालपोषण गरेकी थिइन् । सुकुम्बासी जग्गामा रहेको कच्ची झुप्रो घरको पनि पछाडिबाट पहिरो जाने खतरामा पुगेकाले चार÷पाँच आना जग्गा दिएर भए पनि आफैँले घर बनाएर राखिदिने सोच बनाएको शिक्षिका जुनामायाले बताइन् । ‘दशैँमा आफ्नै छोरासरह बनाएर टीका लगाउँदै आएकी छु’, उनले भनिन्, ‘घरमै लगेर पाल्छुभन्दा उनका हजुरआमाले लैजान दिनुभएन ।’
घरमा बुझ्दा कापी, कलम, विद्यालय पोशाक किन्ने रकम नुहँदा विद्यालय नगएको थाहा पाएपछि सहयोग गर्न थालेको उनले बताइन् । भानु नगरपालिका–३ खहरेस्थित मस्र्याङ्दी आधारभूत विद्यालयको शिक्षिका जुनामायाले कक्षा ८ सम्म आफूले पढाउँदै आएको विद्यालयमै राखेर पढाएकी थिइन् ।
जुम्ल्याहा दाजुभाइ राम र लक्ष्मण अहिले भानु नगरपालिका–२ नारेश्वरटारस्थित शहीद होमराज लोहनी शारदा सदन माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छन् । शिक्षिका जुनमायाले अहिलेको दशैँमा जुम्ल्याहा दाजुभाइलाई चाहिने कापी, कलम, नयाँ कपडा, मोबाइल, घरमा चाहिने खाद्यान्नलगायतका सामग्री घरमै उपलब्ध गराइदिएकी छन् । उनीहरुले पढ्न चाहे स्नातकोत्तरसम्मको अध्ययनका लागि सहयोग गर्ने योजना छ । उनले भनिन्, ‘बाबुआमाले सानैमा छाडेर गएपछि वृद्धा हजुरआमाको संरक्षणमा रहँदै आएका थिए र अहिले पनि उनैको साथमा छाडिदिएको छु ।’
आफूले घरमा लगेर राखेर पढाउँछु भन्ने सोच बनाएको तर बूढी हजुरआमाले लैजान नदिएपछि आमाको साथमा नै छाडिदिएको उनले बताइन् । ‘बेला बेलामा उनको घरमा गएर उनीहरुको रेखदेख र सुझाव, सल्लाह प्रदान गर्ने गरेको छु’, उनले भनिन् ‘दुवै जनाको स्वभाव राम्रो र अध्ययनमा लगनशील छन् ।’
आर्थिक अवस्था कमजोर भएकाले आर्थिक कठिनाइले अध्ययन छुटाउनुपर्ने अवस्था आएपछि ती शिक्षिकाले दुई दलित बालकको अभिभावक बनेर विगत आठ वर्षदेखि अध्ययनका लागि सहयोग गर्दै आएकी हुन् । व्यक्तिगत खर्चमा दुई बालकको अध्ययनमा सहयोग गर्दै आउनुभएपछि यतिबेला गाउँघरमा सबैले जुनामायाको प्रशंसा गर्न थालेका छन् ।
‘काम गर्नु त शिक्षिका जुनामायाको जस्तो पो’ भनेर सबैले प्रशंसा गर्ने गरेका छन् । ‘यसले मलाई थप हौसला मिल्नुका साथै असहाय दुई बालकलाई पढाइदिन पाउँदा मनमा आनन्द मिलेको छ’, उनले भनिन्, ‘गाईवस्तु पनि पक्की गोठमा बस्छन् तर उनीहरु झुपडीमा बसेर देखेर रुन मन लागेको र उनीहरुको उज्ज्वल भविष्य बनाउन अध्ययनका लागि मद्दत गरेकी हूँ ।’
बालकद्वयको आफ्नो घरमा ल्याई जागिर खुवाएर विवाह गरिदिने चाहना रहेको शिक्षिका जुनमायाले बताइन् । आफ्नो लागि शिक्षिका जुनमाया साक्षात देवी पाएको राम सुनारले बताए । ‘जन्म दिने आमा गुमाए पनि कर्म दिने आमा पाएकाले हाम्रो पढ्ने रहर पूरा भएको छ’, उनले भनिन् । जुनामायालाई आफ्नै आमाको रूपमा लिने गरेको उनीहरु बताउँछन् ।
जुनामायाले समाजमा गतिलो सन्देश दिनुका साथै राम्रो छाप पार्न सफल भएको भानुनगरपालिका–३ का वडाध्यक्ष दलनारायण श्रेष्ठले बताए । उनका श्रीमान् महेन्द्र कुमाल पनि शिक्षक पदमा कार्यरत भएको र पारिवारिक आर्थिक अवस्था राम्रो रहेकाले बालकद्वयको पठनपाठनमा सहज भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । सहाराविहीन बालकलाई सहारा दिएर अभिभावकको महत्वपूर्ण भूमिका निर्वाह गर्नु अनुकरणीय कार्य भएको उनी बताउछन् ।