
बर्दियामा नक्कली सरकारी कार्यालय खोलेर ठगी गर्ने दम्पती पक्राउ
बर्दिया – बर्दियामा नक्कली सरकारी कार्यालय सञ्चालन गरेर सर्वसाधारणलाई ठगी गर्दै आएको आरोपमा एक दम्पती पक्राउ परेका छन्।
पक्राउ पर्नेमा ठाकुरबाबा नगरपालिका–३ निवासी २४ वर्षीय घनश्याम न्यौपाने र उनकी श्रीमती दाङको लमही नगरपालिका–५ निवासी २३ वर्षीया कृपा चौधरी रहेका छन्। उनीहरूले ठाकुरबाबा नगरपालिका–३ स्थित बगनाहा बजारमा नक्कली सरकारी कार्यालय सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार उनीहरूले एक घर भाडामा लिएर ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग, ठाकुरबाबा नपा–३, बर्दिया, टीकापुर, लम्की’ नामको कार्यालय स्थापना गरेका थिए।
उक्त कार्यालयमार्फत विभिन्न व्यक्तिलाई सरकारी कर्मचारीमा नियुक्ति गरिदिने, काममा लगाइदिने तथा मजदुरी उपलब्ध गराइदिने आश्वासन दिँदै ठगी गरिएको आरोप छ।
प्रहरी अनुसन्धानबाट स्थानीय व्यक्तिहरूलाई कर्मचारीका रूपमा नियुक्ति दिएको, विभिन्न निर्माण तथा मजदुरीका काममा लगाएको तर काम गरेबापतको ज्याला नदिएको खुलेको छ। त्यसबाहेक कार्यालय सञ्चालन गरिएको घरका धनीलाई घरको तल्ला थप्न लगाएर निर्माण कार्य गराए पनि भुक्तानी नगरेको आरोप लागेको छ।
घरधनीबाट जाहेरी परेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा आरोपितहरूले आफैं सरकारी शैलीका कागजात, छाप तथा नियुक्तिपत्र तयार गरी प्रयोग गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सरोज पौडेलका अनुसार उनीहरूमाथि ठगी तथा लिखत सम्बन्धी कसुर (कीर्ते) अन्तर्गत अनुसन्धान भइरहेको छ।
एसपी पौडेलले कार्यालयले सरकारी निकायको नाम प्रयोग गरी कामदार भर्ना गर्ने र विभिन्न व्यक्तिबाट रकम असुल्ने उद्देश्य राखेको प्रारम्भिक अनुसन्धानबाट देखिएको बताए।
“घर भाडामा लिएर हामीलाई कामदार चाहियो भन्दै मानिसहरू बोलाउने गरिएको रहेछ,” उनले भने, “सरकारी कार्यालयको साइनबोर्ड नै शंकास्पद देखिएपछि थप अनुसन्धान गर्दा उक्त कार्यालयको अन्य कुनै शाखा वा आधिकारिक अस्तित्व नरहेको पुष्टि भयो। त्यसपछि नक्कली कार्यालय सञ्चालन गरिएको तथ्य खुलेको हो।”
प्रहरीले घटनामा संलग्न दम्पतीमाथि थप अनुसन्धान जारी रहेको जनाएको छ।



कागजपत्र |
