
बजेट जनमुखी नभएको अमरेशकुमार सिंहको आरोप
काठमाडौं- प्रतिनिधिसभामा बजेटमाथिको छलफलका क्रममा सांसद अमरेशकुमार सिंहले सरकारले ल्याएको बजेट कार्यान्वयन हुने आधार नदेखिएको भन्दै कडा असन्तुष्टि जनाएका छन्।
छलफलमा बोल्दै उनले युवालाई रोजगारी सिर्जना गर्ने विषय बजेटमा पर्याप्त रूपमा नदेखिएको टिप्पणी गरे। उनले भने, “युवालाई रोजगारी हामी दिन सकेनौँ भने यो बजेटमा रोजगारी दिने कति ठाउँ देखियो?” आफू व्यवहारिक दृष्टिकोणबाट जनताको अवस्था नजिकबाट बुझ्ने भएकाले बजेटको प्रभावकारीता शंकास्पद देखिएको उनको भनाइ थियो।
सिंहले गरिब, मुसहर, दलित र चेपाङ समुदायको अवस्था सुधारमा बजेटले खासै ध्यान नदिएको आरोप लगाए। उनले उत्पादन वृद्धि, बाँझो जमिनको उपयोग र वैदेशिक रोजगारीमा निर्भर अर्थतन्त्रको विकल्पबारे स्पष्ट नीति नदेखिएको बताए।
उनले जुम्लाको स्याउ उत्पादन र प्रवर्द्धनको उदाहरण दिँदै कृषि क्षेत्रलाई अपेक्षित रूपमा प्राथमिकता नदिइएको दाबी गरे। साथै दक्षिण एसियामा अन्य मुलुकको तुलनामा नेपालको बजेट संरचना असन्तुलित भएको टिप्पणी गर्दै उनले बजेटलाई “फुकेको बेलुन”सँग तुलना गरे।
“यो आफैँमा ठूलो फुकेको बेलुन हो, लामो समय टिक्दैन,” उनले भने, “यो बजेट कार्यान्वयन हुन्छ भन्नेमा मलाई विश्वास छैन।”
सांसद सिंहले बैंकिङ क्षेत्रको तरलता, निक्षेप वृद्धि र व्यापारिक वातावरण कमजोर भएको भन्दै अर्थतन्त्रमा सरकारको नीति प्रभावकारी नभएको पनि बताए।
उनले संविधानअनुसार शिक्षा र स्वास्थ्य मौलिक अधिकार भएको स्मरण गराउँदै त्यसमा कर लगाउनु गलत भएको धारणा व्यक्त गरे। उनका अनुसार मौलिक अधिकारमा कर लगाइए पनि त्यसको भार विद्यार्थीमाथि परेको छ, विद्यालयमाथि होइन।



कागजपत्र |
