
नक्कली प्रमाणपत्र पेश गरेर शिक्षक बनेका कृष्णबहादुरविरुद्ध मुद्दा
काठमाडौं- नवलपरासी (बर्दघाट सुस्तापूर्व) स्थित मणिसंगम माध्यमिक विद्यालय, विनयी त्रिवेणी गाउँपालिका–२ मा कार्यरत प्राथमिक तह तृतीय श्रेणीका शिक्षक कृष्णबहादुर खन्गाहाविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा उनीविरुद्ध आरोपपत्र दायर गरेको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।
आयोगका अनुसार खन्गाहाले शिक्षक सेवामा प्रवेश गर्दा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेर जागिर खाएको भन्ने उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो ।
अनुसन्धानका क्रममा उनले भवानी माध्यमिक विद्यालय, नवलपरासीमा २०५९ मंसिर १ गतेदेखि लागू हुने गरी अस्थायी प्राथमिक तह शिक्षकको पद प्राप्त गर्न तथा २०७५ चैत २९ गते सोही विद्यालयमा स्थायी प्राथमिक तह शिक्षक पदमा नियुक्ति लिन पेश गरेका प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको आयोगले जनाएको छ ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ उपदफा (१) अन्तर्गत कसुर कायम गरी सोही ऐनअनुसार कैद र जरिवानाको मागदाबी गरिएको आयोगले जनाएको छ ।



कागजपत्र |
