हवाई क्षेत्रलाई ईयूको कालोसूचीबाट हटाउन नेपालले माग्यो सहयोग


काठमाडौं –  परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको हवाई क्षेत्रलाई युरोपेली संघ (ईयू) को उडान सुरक्षा सूची अर्थात् ‘कालोसूची’बाट हटाउन सहयोग गर्न ईयू सदस्य राष्ट्रहरूसँग आग्रह गरेका छन् ।

सोमबार परराष्ट्र मन्त्रालयमा ईयूका राजदूतहरूको संयुक्त प्रतिनिधिमण्डलसँग भएको भेटवार्ताका क्रममा मन्त्री खनालले नेपालले हवाई सुरक्षा क्षेत्रमा गरेका सुधार र प्रगतिलाई मूल्यांकन गर्दै कालोसूचीबाट हटाउने प्रक्रिया अगाडि बढाउन आग्रह गरेका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा मन्त्री खनालले नेपालसँग ईयूको निरन्तर विकास साझेदारीको प्रशंसा गर्दै व्यापार, जलवायु परिवर्तन नियन्त्रण, शिक्षा तथा जनस्तरको सम्बन्ध विस्तारजस्ता क्षेत्रमा सहकार्य अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

उनले वर्तमान सरकारको मुख्य प्राथमिकता तीव्र आर्थिक वृद्धि, प्रभावकारी सेवा प्रवाह तथा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति रहेको पनि प्रतिनिधिमण्डललाई जानकारी गराए ।

मन्त्री खनालले लगानीमैत्री वातावरण निर्माण, निर्यातको प्रतिस्पर्धात्मक क्षमता वृद्धि र नवप्रवर्तन प्रवर्द्धनका लागि सरकारले विभिन्न आर्थिक सुधार अघि बढाइरहेको उल्लेख गर्दै जलविद्युत्, पर्यटन, पूर्वाधार तथा सूचना प्रविधि क्षेत्रमा थप लगानी गर्न ईयू राष्ट्रहरूलाई आग्रह गरे ।

भेटमा ईयू प्रतिनिधिमण्डलको नेतृत्व गरेकी नेपालका लागि ईयूकी राजदूत भेरोनिक लोरेन्जोले नयाँ सरकारप्रति ईयू सदस्य राष्ट्रहरूको समर्थन पुनः पुष्टि गर्न भ्रमण गरिएको बताइन् ।

उनले ई–गभर्नेन्स, डिजिटलाइजेसन तथा प्राविधिक ज्ञान आदानप्रदानमार्फत नेपाल–ईयू सहकार्यलाई थप विस्तार गर्ने सम्भावना खोज्नु भ्रमणको प्रमुख उद्देश्य रहेको स्पष्ट पारिन् ।

प्रतिक्रिया