
बालकलाई १८ भाटा हानेकी शिक्षिका पक्राउ
पाँचथर- अङ्क र अक्षर लेख्न नसकेको भन्दै साढे चार वर्षीय बालकलाई निर्घात कुटपिट गर्ने शिक्षिका प्रहरीले पक्राउ गरेको छ ।
फिदिम नगरपालिका–१४ स्थित लुङरुपा बोर्डिङ एकेडेमीकी शिक्षिका सुमित्रा सेन्दाङलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले शनिबार नियन्त्रणमा लिएको हो ।
सेन्दाङले गत बुधबार एलकेजीमा अध्ययनरत पाँच वर्षीय छात्र सेसेफुङ नेम्वाङलाई ढाडमा १८ भाटा हानेको आरोप लागेको छ । घटनापछि बालकको ढाडभरि निलडाम देखिएको तस्बिर र समाचार सार्वजनिक भएपछि शिक्षिकालाई पक्राउ गर्न दबाब बढेको थियो ।
पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णका अनुसार शिक्षिकाविरुद्ध बालबालिकासम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको छ ।
प्रहरीले पक्राउ परेकी शिक्षिकालाई आइतबार पाँचथर जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको जनाएको छ ।
घटना सार्वजनिक भएपछि विद्यालय प्रशासनले शिक्षिका सेन्दाङलाई निलम्बन गरेको छ । साथै विद्यालयले पीडित बालकको उपचार खर्च बेहोर्ने जनाएको छ ।



कागजपत्र |
