प्रधानमन्त्रीको हस्ताक्षर दुरूपयोग, रअ प्रमुखसँग हुँदै नभएको सहमतिपत्र कसरी बाहिर आयो


काठमाडौं – भारतीय गुप्तचर विभाग ‘रअ’ प्रमुख सामन्तकुमार गोयल ५ कात्तिक २०७७ मा विशेष विमानमार्फत काठमाडौं आएका थिए।जतिबेला गोयलले बालुवाटर पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग मध्यराति ३ घण्टा छलफल गरेका थिए।

भेटको क्रममा ओली र रअ प्रमुख गोयलबीच के कुरा भयो भन्ने तथ्यगत जानकारी बाहिर आएको थिएन। तर, ५ महिनापछि उक्त भेटबारे प्रश्न उब्जेको छ।

बिहीबार साँझ अर्थात आज भारतीय गुप्तचर विभाग ‘रअ’ प्रमुख गोयलले नेपाल भ्रमणमा आउँदा प्रधानमन्त्री ओलीसँग विभिन्न बुँदामा नेपाल–भारतबीच सहमति गरेको भन्दै एक पत्रसहित सार्वजनिक भयो।

त्यसपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री ओलीको चर्को आलोचना हुन थाल्यो। प्रधानमन्त्री ओलीको आलोचना हुनु स्वभाविक पनि हो।

सार्वजनिक सहमति पत्रमा ‘लिपुलेकको कुरा नउठाउनेदेखि एमसीसीमा मोदीले सघाउने’सम्मको विषयलाई समेटिएको थियो।

सहमति पत्रमा लेखिएअनुसार ओली र गोयलबीच नेपाल र भारतको सीमा विवादबारे ओलीले अन्य कदम नचाल्नेदेखि अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गराउन मोदीले सघाउनेसम्मको विषय उल्लेख छ।

सामाजिक सञ्जालमा अनेकन टिकाटिप्पणी हुन थालेपछि प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराइले समाजिक सञ्जाल फेसबुकमार्फत समान्त गोयल र प्रधानमन्त्रीसँग जोडेर हस्ताक्षरको दुरूपयोग गरेर गरिएको प्रचार प्रोपोगाण्डा भएको बताएका छन्।

‘भारतीय खुफिया एजेन्सीका प्रमुखसँगको सम्झौताको रूपमा सम्माननीय प्रधानमन्त्रीको हस्ताक्षरको दुरूपयोग गरी केही अनलाइनमा प्रकाशित भ्रमपूर्ण प्रचार निन्दनीय छ। विदेश मामिला जस्तो संवेदनशिल बिषयमा गरिने यस्ता खेलवाड़प्रति सचेत हुन सबैमा आग्रह गर्दछु,’ भट्टराईले लेखेका छन्।

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकारले नै प्रधानमन्त्री र गोयलको हस्ताक्षर दुरुपयोग भएको दावी गरेपछि यस्तो काम कसले गर्यो? गम्भीर प्रश्न उब्जेको विदेश मामिलाका जानकारहरु बताउँछन्। ‘प्रधानमन्त्रीको हस्ताक्षर दुरुपयोग हुनु अत्यन्त गम्भीर अपराध हो,’ जानकारहरुको बुझाइ छ।

यस्तै नेकपा एमालेका विदेश विभागका उपप्रमुख विष्णु रिजालले पनि घटनाको चर्को निन्दा गरेका छन्। ‘प्रधानमन्त्रीसँग रिस उठे आलोचना गर्ने अरू कैयौं विषय छन्। तर, विदेशी गुप्तचरसँग लिखित सम्झौता गरेको भन्दै नक्कली कागजात खडा गरी प्रचार गर्नु वस्तुतः तिनै गुप्तचर र तिनकै देशको सेवा हुन्छ। यति गम्भीर विषयमा आपत्तिजनक प्रचार गर्नुको अरू उद्देश्य त के होला र ? कम्तीमा देशको मर्यादाको त ख्याल गरौं!’ रिजालले फेसबुकमा लेखेका छन्।

हुँदै नभएको सहमतिपत्रमा के छ?

सहमतिको पहिलो बुँदामा नेपाल र भारतको बीचमा भएका कुनै पनि समस्याहरु वार्ताको माध्यमबाट समाधान गरिने बताइएको छ।

त्यस्तै बुँदा नम्बर २ मा नेपालको स्थिरता र लोकतन्त्रको पक्षमा प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्ने कदममा भारतले स्वागत र साथ दिने उल्लेख गरेको छ।

त्यस्तै बुँदा नम्बर ३ मा नेपाल भारत सीमा सम्बन्धी समस्या उच्चस्तरबाट हल गर्न सहमत भएको उल्लेख छ। त्यस्तै कालापानी लिपुलेक र लिम्पियाधुराबारे राजनीतिक संवाद नभइकिन अन्य कदम नचाल्ने ओलीको प्रतिबद्धता उल्लेख छ।

यसैगरी बुँदा नम्बर ४ मा भने भारतले नेपालले गर्ने अन्तर्राष्ट्रिय सन्धी सम्झौतामा साथ दिने उल्लेख छ । एमसीसीको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साथ र सहयोग गर्ने विषय पनि उल्लेख गरेका छन्।

सहमतिपत्रमा नेपालको तर्फबाट प्रधानमन्त्री ओली र भारतको तर्फबाट गोयलले हस्ताक्षर छ।

प्रतिक्रिया