
प्रहरीका १० एसपीलाई एसएसपीमा बढुवा गर्ने निर्णय
काठमाडौं- नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी) लाई वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवा गर्ने निर्णय भएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले बढुवा समितिले पुस २४ गते गरेको सिफारिसका आधारमा शुक्रबार एसएसपी बढुवाको निर्णय स्वीकृत गरेका हुन्।
एसएसपीमा बढुवा हुनेमा रामप्रकाश शाह, भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, श्यामसिं चौधरी, नकुल पोखरेल, दिलीप घिमिरे, पदमबहादुर विष्ट, योगेन्द्रसिंह थापा र सुवासचन्द्र बोहरा रहेका छन्।
गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) प्रक्रिया पूरा गर्दै प्रहरी संगठनभित्र प्राविधिकतर्फ रहेका दुईवटा एसएसपी दरबन्दीलाई जनपद समूहमा स्थानान्तरण गरेको छ भने एक दरबन्दी थप गरेको छ। सोही व्यवस्थाअनुसार १० जनालाई एसएसपीमा बढुवा गरिएको मन्त्रालयले जनाएको छ।
बढुवा भएका एसएसपीहरूलाई शुक्रबार नै प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम तय भएको छ।



कागजपत्र |
