
राप्रपाकाे महामन्त्री बनाउने सहमतिपछि नानीमैया आचार्यले तोडिन् अनशन
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा समानुपातिक बन्द सूची सच्याउन माग गर्दै आमरण अनशनमा बसेकी नेतृ नानीमैया आचार्यले आफूलाई महामन्त्री बनाउने सहमतिपछि अनशन तोडेकी छन्।
उनलाई राप्रपाका पूर्वअध्यक्ष तथा वयोवृद्ध नेता पशुपति शम्शेर राणाले जुस खुवाएर अनशन तोडाएका हुन्। सात दिनदेखि अनशनरत आचार्यको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि राणाको पहलमा सहमति जुटेको हो।
समानुपातिक बन्द सूचीको महिला क्लस्टरमा समावेश नामप्रति असहमति जनाउँदै आचार्यले गत शुक्रबार पार्टी केन्द्रीय कार्यालयमै आमरण अनशन सुरु गरेकी थिइन्। तर गत मंगलबार संस्थापन पक्षका महिलाहरूले उनलाई जबर्जस्ती पार्टी कार्यालयबाट बाहिर निकालेपछि उनी ओम अस्पतालमा भर्ना भई अनशनलाई निरन्तरता दिएकी थिइन्।
असन्तुष्ट महिला नेतृहरूका अनुसार अनशनको सात दिनसम्म पनि पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले कुनै चासो नदेखाएपछि नानीमैयाको स्वास्थ्य गम्भीर बन्दै गएको थियो। त्यसपछि उनीहरूले पशुपति शम्शेर राणासँग आग्रह गरेका थिए। राणा सोमबार साँझ करिब ५ बजे अस्पताल पुगेपछि अनशन तोडाइएको हो।
यस क्रममा ८ बुँदे सम्झौता पत्रमा हस्ताक्षरसमेत गरिएको छ। सम्झौतामा पशुपति शम्शेर राणासहित पाँच जना शीर्ष नेताहरूले हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्नेमा पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री डा. धवलशम्शेर राणा र कार्यसम्पादन समिति सदस्य निरञ्जन थापा रहेका छन्।
सम्झौताअनुसार नानीमैया आचार्यलाई राप्रपाको महामन्त्री बनाइने सहमति भएको छ। साथै, चम्पा अधिकारीलाई केन्द्रीय सदस्य तथा कार्यसम्पादन समिति सदस्यमा मनोनीत गर्ने र आगामी प्रदेशसभा निर्वाचनमा बागमती प्रदेशतर्फ खस आर्य समूहको पहिलो नम्बर क्लस्टरमा राख्ने विषयमा पनि सहमति जुटेको जनाइएको छ।



कागजपत्र |
