
७४ लाखभन्दा बढीको अवैध क्रिप्टो कारोबारमा संलग्न दुईजना पक्राउ
काठमाडौं- अवैध रूपमा क्रिप्टोकरेन्सी (अभौतिक मुद्रा) को कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको विशेष टोलीले ७४ लाख रुपैयाँभन्दा बढीको अवैध डिजिटल मुद्रा कारोबारमा संलग्न रहेको अभियोगमा उनीहरूलाई शनिबार नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा काठमाडौँका ३६ वर्षीय विशाल डंगोल र मोरङ घर भई हाल काठमाडौँ बस्दै आएका ४५ वर्षीय उमेश श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा परिसरबाट खटिएको टोलीले शनिबार दिउँसो करिब २ बजे काठमाडौँको बिजुलीबजार क्षेत्रमा उनीहरूलाई समातेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार प्रारम्भिक अनुसन्धानमै दुबैले ७४ लाख ५२ हजार ६९९ रुपैयाँ बराबरको अवैध क्रिप्टो कारोबार गरेको खुलेको छ।
उनीहरूलाई ‘अभौतिक मुद्राको प्रयोग गर्न नहुने’ कसुरमा अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए।



कागजपत्र |
