एनपीएलमा काठमान्डु चम्कियो, कर्णाली याक्स ५ विकेटले पराजित


 

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमान्डु गोर्खाजले आफ्नो छैटौँ खेलमा कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै चौथो जित दर्ता गरेको छ।

टीयू क्रिकेट मैदानमा कर्णालीले दिएको १५० रनको लक्ष्य काठमान्डुले १८ ओभरमै ५ विकेट गुमाएर सहज रूपमा पूरा गर्‍यो। काठमान्डुको जितमा विदेशी जोडी जेरार्ड एरास्मस र जोन सिम्पसन निर्णायक बने। दुवैले ८६ रनको उत्कृष्ट साझेदारी गर्दै टोलीलाई जितको दिशामा लगे।

जोन सिम्पसन ४१ रनमा आउट भए भने जेरार्ड एरास्मस ४३ रनमा अविजित रहे। वेन चाल्र्सवर्थले ३४ रन जोडे, मिलिन्द कुमारले १५, आकाश त्रिपाठीले ८ रन बनाए भने रसिद खान खाता नखोली आउट भए। कर्णालीका नन्दन यादवले ३ विकेट र पवन सर्राफले १ विकेट लिए।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो।

कर्णालीका लागि गुल्सन झा आक्रामक बने। उनले २२ बलमा अविजित ४९ रन प्रहार गरे। मार्क वाटले ३०, पवन सर्राफले ३५, नाजिबुल्लाह जाद्रानले १२ तथा दीपक डुम्रेले १० रन योगदान दिए। प्रियान्क पञ्चाल ०, विलियम बोसिष्टो १ र कप्तान सोमपाल कामी ६ रनमै समेटिए।

काठमान्डुका लागि बलिङमा रसिद खानले २ विकेट, कप्तान करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले प्रत्येकी १–१ विकेट लिए।

यो जितसँगै काठमान्डुले ६ खेलमा चौथो जीत हात पारेको छ। कर्णालीले भने ५ खेलमा ४ हार बेहोर्दै एक मात्र जितसहित संघर्ष गरिरहेको छ।

 

प्रतिक्रिया