कांग्रेसको महाधिवेशन पुसको अन्तिम साता गर्ने तयारी !


काठमाडौं- लामो समयदेखि विवादमा अल्झिएको नेपाली कांग्रेसको १५औँ महाधिवेशन अब पुस २६ देखि २९ गतेसम्म गर्ने सहमति नजिकिएको छ। पार्टीभित्र चलिरहेको तनाव, छुट्टाछुट्टै प्रस्ताव र पटक–पटक स्थगित हुँदै आएको केन्द्रीय कार्यसमिति बैठकबीच आइतबार एकाएक निर्णायक गृहकार्य अघि बढेको हो।

आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेता रमेश लेखक, तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्मासहितको विस्तृत छलफलमार्फत महाधिवेशनको कार्यतालिका बनाएका छन्। सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार ‘निकास’ खोज्ने लक्ष्यसहित गरिएको छलफलमा पुस २६–२९ मिति प्रस्ताव गर्ने  सहमति बनेको सहभागी नेताहरू बताउँछन्।

कांग्रेसको २८ असोजदेखि सुरु भएको केन्द्रीय समिति बैठक महाधिवेशन मितिमै सहमति नजुट्दा पटक–पटक स्थगित हुँदै आएको थियो।

प्रतिक्रिया