
गुटरहित कांग्रेसः इतिहासले दिएको अवसर
नेपाली कांग्रेसको इतिहास हेर्दा यो दल केवल एउटा संगठन होइन, नेपालको लोकतान्त्रिक यात्राको मेरुदण्ड हो भन्ने स्पष्ट देखिन्छ । राणाशासनको अन्त्यदेखि लिएर गणतन्त्रको स्थापना र संविधान कार्यान्वयनसम्म कांग्रेस अग्रपंक्तिमा रह्यो । तर विडम्बना के छ भने, इतिहासको मालिक बनेको यही दल आज आफ्नै गुटगत स्वार्थ र आन्तरिक असन्तुलनको घेराभित्र फँसिएको अनुभूति आम नेता कार्यकर्ताहरूले गरेका छन् ।
मलाई लाग्छ, अहिलेको परिस्थितिमा कांग्रेसभित्रको सबैभन्दा ठूलो आवश्यकता गुटभन्दा माथि उठ्ने सामूहिक सोच हो । गुट–रहित, विचार–केन्द्रित र जनतामुखी संगठन निर्माण हाम्रो साझा जिम्मेवारी हो । नेतृत्व बदल्नु भन्दा बढी जरुरी छ—नेतृत्व सुधार र संस्थागत संस्कारको पुनस्र्थापना ।
पार्टीभित्र सुरु भएको हस्ताक्षर अभियानले असन्तुष्टि र असहमतिका स्वरलाई सतहमा ल्यायो। लोकतान्त्रिक दलमा प्रश्न उठ्नु अस्वाभाविक होइन, तर ती प्रश्नहरू संगठनभित्रै व्यवस्थापन हुन सक्नुपर्छ। संवाद र विश्वासका साटो असन्तुष्टिको बाटो छान्दा पार्टी फुटको संघारमा पुगेको जस्तो देखिन्छ । धेरै साथीहरूको बुझाइ पनि यही छ—यो अभियानले पार्टीलाई एक ढिक्का होइन, बरु टुक्र्याउने जोखिम बढाएको छ ।
कांग्रेसले पहिला नै विभाजनको पीडा भोगिसकेको छ । त्यही इतिहासले हामीलाई सिकाएको छ कि फुटले कहिल्यै विजय ल्याउँदैन, बरु कमजोर बनाउँछ। अहिलेको परिस्थितिमा मतभेद स्वाभाविक हो, तर फुट विकल्प होइन। प्रश्न उठाउनु लोकतन्त्रको हिस्सा हो, तर संगठन भत्काउनु लोकतन्त्रको हत्या हो।
देश आज राजनीतिक अस्थिरता र आर्थिक संकटको दोबाटोमा उभिएको छ। यस्तो बेलामा इतिहास बोकेको दलको जिम्मेवारी केवल आफ्ना गुटलाई सन्तुलनमा राख्नु होइन, देशलाई दिशा दिनु हो। लोकतन्त्रमा शक्तिशाली प्रतिपक्ष र जिम्मेवार सत्तापक्ष दुवै आवश्यक छन्। कांग्रेसले आफ्नो भूमिकालाई यस सन्दर्भमा पुनःपरिभाषित गर्न सके देश फेरि स्थायित्व र विश्वासतर्फ फर्किन सक्छ।
नियमित महाधिवेशन हाम्रो संगठनको आत्मा हो। यो केवल नेतृत्व चयनको औपचारिकता होइन, संगठन पुनर्जागरणको प्रक्रिया हो। महाधिवेशन ढिलो हुँदा पार्टीको जरो कमजोर हुन्छ, कार्यकर्ताको मनोबल घट्छ र जनता पार्टीप्रति उदासीन बन्छन्। त्यसैले सबैभन्दा पहिले कांग्रेसले आफ्नो संरचनागत आत्मसमीक्षा गर्नुपर्छ र महाधिवेशनलाई आफ्नो नियमित राजनीतिक संस्कारको रूपमा पुनस्र्थापित गर्नुपर्छ।
आज कांग्रेससँग इतिहासको अनुभव छ, जनताको विश्वासको जग पनि छ, तर समयको माग अनुसार पुनः व्यवस्थित हुने तत्परता अझै देखिएको छैन। अब कांग्रेसले नयाँ पुस्तालाई आत्मसात् गरेर, उनीहरूको सोच र ऊर्जा पार्टीभित्र ल्याउन सके मात्र पुनर्जागरण सम्भव छ। युवा पुस्ता निराश छ, बेरोजगारी र पलायनको पीडामा डुबेको छ। उनीहरूलाई आशा दिने राजनीतिक सोच आज आवश्यक छ, जुन कांग्रेसले प्रदान गर्न सक्छ—तर त्यसका लागि कांग्रेसले आफूलाई फेरि एकपटक “नयाँ सोचसहितको पुरानो पार्टी”का रूपमा पुनःपरिभाषित गर्नुपर्छ।
देश आज राजनीतिक अस्थिरता र आर्थिक संकटको दोबाटोमा उभिएको छ। यस्तो बेलामा इतिहास बोकेको दलको जिम्मेवारी केवल आफ्ना गुटलाई सन्तुलनमा राख्नु होइन, देशलाई दिशा दिनु हो। लोकतन्त्रमा शक्तिशाली प्रतिपक्ष र जिम्मेवार सत्तापक्ष दुवै आवश्यक छन्। कांग्रेसले आफ्नो भूमिकालाई यस सन्दर्भमा पुनःपरिभाषित गर्न सके देश फेरि स्थायित्व र विश्वासतर्फ फर्किन सक्छ।
मलाई विश्वास छ—कांग्रेस इतिहास मर्न दिँदैन। यो दलले हरेक कठिनाइपछि पनि पुनः उठ्ने क्षमता देखाइसकेको छ। अहिले पनि कांग्रेससँग त्यो सामथ्र्य बाँकी छ—तर त्यो केवल तब सम्भव हुन्छ जब हामी सबैले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थाको भविष्य सोच्न सक्छौं।
गुट–रहित, संवाद–मुखी र जन–केन्द्रित कांग्रेस बनाउनु अब विकल्प होइन, आवश्यकता हो। यही बाटोले कांग्रेसलाई फेरि जनताको मनमा पु¥याउनेछ, र यही बाटोले देशलाई फेरि लयमा फर्काउनेछ।



रोशन राज पाण्डेय |
