‘अराजक जमातको गठजोड’ भन्ने बादलको अभिव्यक्तिप्रति रास्वपाको आपत्ति


काठमाडौं – नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै दिएको अभिव्यक्तिपछि प्रतिनिधिसभामा विवाद उत्पन्न भएको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले रास्वपा कुनै स्पष्ट विचारधारामा आधारित राजनीतिक दल नभई “अति महत्त्वाकांक्षी अराजक जमातहरूको अस्थायी गठजोड” भएको टिप्पणी गरेका थिए।

“राजनीतिक नेतृत्वका दृष्टिले रास्वपा कुनै सुसंगत वैज्ञानिक विचारधारामा आधारित दल होइन,” उनले भने, “यो आकस्मिक रूपमा उत्पन्न भएको अराजक जमातहरूको अस्थायी गठजोड हो।”

थापाले रास्वपामाथि चरम अवसरवादी र अस्थिर प्रवृत्ति भएको आरोपसमेत लगाए। साथै उनले आफ्नो सम्बोधनका क्रममा नेपाली सेनामाथि पनि टिप्पणी गरेका थिए।

थापा बोलिरहेका बेला रास्वपाका सांसद मनिष खनाल उठेर विरोध जनाउन खोजेका थिए। त्यसक्रममा सभामुख डीपी अर्यालले उनलाई बस्न आग्रह गर्दै थापालाई आफ्नो भनाइ राख्न दिएका थिए।

थापाको सम्बोधन सकिएपछि सांसद खनालले नियमापत्ति जनाउँदै उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरे।

“अमर्यादित र अशोभनीय अभिव्यक्ति रेकर्डमा राखेर जान सकिँदैन,” खनालले भने, “उहाँले बोलेका सबै आपत्तिजनक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइनुपर्छ।”

रास्वपाले थापाको अभिव्यक्तिलाई संसदीय मर्यादाविपरीत भएको भन्दै औपचारिक आपत्ति जनाएको छ।

प्रतिक्रिया