
सुर्खेत नगर विकास समितिमा करोडौं हिनामिना, पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समिति, वीरेन्द्रनगरका तत्कालीन सदस्य सचिवसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका अनुसार सटर कवल भाडाबाट उठेको आम्दानी बैंकमा दाखिला नगरी राजस्व हिनामिना गरिएको आरोपमा उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो।
मुद्दामा तत्कालीन सदस्य सचिव टिकाराम ढकालविरुद्ध ६४ लाख २८ हजार ४३७ रुपैयाँ बराबरको बिगो मागदाबी गरिएको छ। यस्तै, तत्कालीन सदस्य सचिव नरहरि तिवारीविरुद्ध एक करोड चार लाख ७१ हजार ९४२ रुपैयाँ, गेहेन्द्रबहादुर डाँगीविरुद्ध ७२ लाख ७८ हजार ११० रुपैयाँ बिगो मागदाबी गरिएको आयोगले जनाएको छ।
त्यसैगरी तत्कालीन लेखा अधिकृत हरिबहादुर क्षत्रीकी श्रीमती सीमाकुमारी चन्द क्षत्रीविरुद्ध दुई करोड ९० लाख ९६ हजार ४४१ रुपैयाँ तथा तत्कालीन सहलेखापाल खड्गबहादुर रानाविरुद्ध दुई करोड ९४ लाख ७८ हजार ६८१ रुपैयाँ बराबरको बिगो मागदाबी गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
आयोगका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म सटर भाडा असुलीबाट चार करोड १८ लाख चार हजार ३०३ रुपैयाँ आम्दानी भएको देखिएको थियो। तर, त्यसमध्ये एक करोड २३ लाख २५ हजार ६२२ रुपैयाँ मात्रै बैंक दाखिला भएको पाइएको छ। बाँकी दुई करोड ९४ लाख ७८ हजार ६८१ रुपैयाँ बैंकमा दाखिला नगरी हिनामिना गरिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
अनुसन्धानका क्रममा गैरकानुनी आर्थिक कारोबार र राजस्व अपचलन भएको पुष्टि भएपछि सम्बन्धित व्यक्तिविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले स्पष्ट पारेको छ।



कागजपत्र |
