भिजिट भिसामा नयाँ मापदण्ड लागू


काठमाडौं-  सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागू गरेको छ। यसअघि जारी ६ बुँदे मापदण्ड खारेज गर्दै अध्यागमन विभागको प्रस्तावमा नयाँ मापदण्ड आजदेखि लागु गरिएको हो।

अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै १० माघ २०८० बाट लागू भएको ६ बुँदे मापदण्ड तथा अन्य भिजिट भिसासम्बन्धी प्रावधानहरू खारेज गरी १३ कात्तिकको मन्त्रीस्तरीय निर्णयअनुसार नयाँ मापदण्ड लागू गर्ने निर्णय गरेकाे बताएकाे छ।

विभागका अनुसार पुराना मापदण्ड कडा भएको र कागजात तयार पार्ने प्रक्रिया झन्झटिलो भएपछि नागरिकहरूले गुनासा गरेका थिए। त्यस्तै, बिचौलियाहरूले कागजात मिलाउने नाममा असूली गर्ने बढ्दो समस्या समाधानका लागि मापदण्ड परिमार्जन गरिएको हो।

नयाँ मापदण्ड अनुसार, भिजिट भिसामा विदेश जाँदा व्यक्ति आफ्नै जिम्मेवारीमा ६ महिनाभन्दा कम अवधि भएको राहदानी, गन्तव्य मुलुकको भिसा, प्रस्थान गर्न गन्तव्यसम्मको हवाई टिकट, भ्रमण प्रयोजनको स्पष्ट विवरण र आवश्यक कागजात साथमा राखेर स्वघोषणा गरेर यात्रा गर्नुपर्नेछ।

यसअघि जारी ६ बुँदे मापदण्डमा दुईतर्फी हवाई टिकट, होटेल बुकिङ, आफन्तको घरमा बस्ने भए तीन पुस्ते विवरण लगायतका कागजात पेश गर्नुपर्ने प्रावधान थियो।

प्रतिक्रिया