नेपालमा हान्टा भाइरसको जोखिम न्यून


काठमाडौं-  नेपालमा हान्टा भाइरस सङ्क्रमणको जोखिम अत्यन्त न्यून रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्रका निर्देशक डा. अनुज भट्टचनका अनुसार हालै आन्द्रा महासागर क्षेत्रमा सञ्चालनमा रहेको एक पानीजहाजमा हान्टा भाइरस सङ्क्रमण देखिए पनि नेपालमा यसको तत्काल जोखिम नदेखिएको हो ।

उनका अनुसार यो भाइरस समूहको ‘एन्डिज भाइरस’ विशेष गरी दक्षिण अमेरिकी क्षेत्रमा पाइने केही प्रकारका मुसामा मात्र सीमित छ । नेपालमा त्यस्ता मुसा सामान्यतया नपाइने भएकाले यहाँ यसको जोखिम अत्यन्त न्यून रहेको उनले स्पष्ट पारे ।

“हान्टाभाइरस समूहको ‘एन्डिज भाइरस’बाट सङ्क्रमित हुने मुसा नेपालमा पाइँदैन, त्यसैले नेपालमा तत्काल जोखिम अत्यन्त न्यून छ,” डा. भट्टचनले बताए ।

हालसम्म सङ्क्रमण देखिएको पानीजहाजमा कुनै नेपाली नागरिकले यात्रा गरेको पुष्टि नभएको पनि उनले जानकारी दिए । साथै, उक्त जहाजबाहेक अन्य कुनै स्थान वा व्यक्तिमा हान्टा भाइरस सङ्क्रमण नदेखिएको जनाइएको छ ।

उनका अनुसार सम्भावित जोखिमलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रिय हवाई मार्ग तथा स्थलगत नाकामा स्वास्थ्य निगरानी र सतर्कता बढाइएको छ । साथै, कुनै पनि सङ्क्रमित भेटिएमा तत्काल उपचार र व्यवस्थापन गर्न देशभरका अस्पतालहरू तयारी अवस्थामा राखिएको छ ।

हान्टा भाइरस एक दुर्लभ भाइरल रोग हो, जुन मुख्यतया सङ्क्रमित मुसाको पिसाब, दिसा, र्याल वा दूषित वातावरणको सम्पर्कमा आउँदा मानिसमा सर्छ । वैज्ञानिक अध्ययनअनुसार मानिसबाट मानिसमा सङ्क्रमण अत्यन्त सीमित अवस्थामा मात्र, त्यो पनि नजिकको सम्पर्कमा मात्रै हुन सक्छ ।

यसबाट बच्न घर तथा वरपर सफाइ राख्ने, मुसा प्रवेश गर्ने ठाउँ बन्द गर्ने, मुसाको फोहोर सफा गर्दा मास्क र पञ्जा प्रयोग गर्ने तथा नियमित हात धुने बानी अपनाउन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् ।

ज्वरो, श्वासप्रश्वासमा समस्या वा अन्य असामान्य लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा जान चिकित्सकहरूले आग्रह गरेका छन् ।

प्रतिक्रिया