काभ्रे मालपोतका खरिदार ज्ञानेन्द्र भण्डारीमाथि भ्रष्टाचार मुद्दा दर्ता


काभ्रे-  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय धुलिखेल काभ्रेमा कार्यरत खरिदार ज्ञानेन्द्रप्रसाद भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।

मंगलबार विशेष अदालतमा दर्ता भएको मुद्दामा भण्डारीमाथि जग्गा दर्ता प्रक्रियामा अनियमितता गरी घुस लिएको आरोप छ।

अख्तियारले भदौ १८ गते दोलालघाट गाविस–७ मा रहेको फिल्ड बुकमा दर्ता छुटेका जग्गाहरू धनीको नाममा छुट दर्ता गर्ने उद्देश्यका लागि भण्डारीलाई दुई लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो।

अख्तियारका प्रवक्ता राजेन्द्रप्रसाद पौडेलले भने “घुस लिइसकेका अवस्थामा हाम्रो टोलीले उनलाई नियन्त्रणमा लिएको हो। भण्डारीको साथबाट रकम र एक थान मोबाइल पनि बरामद गरिएको छ।”

अब विशेष अदालतमा सुनुवाइ हुँदै आरोपीमाथि कानुनी कारबाही अघि बढ्ने छ।

प्रतिक्रिया