
कञ्चनपुरमा युवकको आत्महत्या: चारजनाविरुद्ध मुद्दा चलाइँदै
कञ्चनपुर- कञ्चनपुरमा एक युवकले आफूलाई जेनजी भनेर कुटपिट गरिएको दाबी गर्दै प्राण त्याग्नु अघि नाम लिएका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी सागर बोहरा अनुसार पक्राउ पर्नेमा खेम बोहरा, अमर बोहरा, जनक धानुक र भोजराज पन्त रहेका छन्। उनीहरू अहिले प्रहरीले नियन्त्रणमा राखिएको र आत्महत्या दुरुत्साहनको अभियोगमा अनुसन्धान भइरहेको जानकारी दिइएको छ।
शनिबार कञ्चनपुरको वेदकोट नगरपालिका–४, बैतडामा २५ वर्षीय नरेश धानुकले सामाजिक सञ्जालमा लाइभ गर्दै आत्महत्या गरेका थिए। आत्महत्याअघि उनले आफूलाई जेनजी भनेर नांगै बनाएर कुटपिट गरिएको र केही व्यक्तिको नाम लिँदै मार्न बाध्य गरिएको बताएका थिए।
उनले भनेका थिए, “मलाई सामाजिक अत्याचार भयो। म मर्दै छु। सोसल अत्याचारकै कारणले म फाँसी दिन गइरहेको छु। कांग्रेसका व्यक्तिले मलाई कुटपिट गरे। मलाई नांगै बनाएर दौडाए।”
मृतककी दिदी हिरा धानुक रावलले पनि राति साढे १० बजे नरेशलाई जेनजी भन्दै रक्सी पिलाएर कुटपिट गरिएको दाबी गरेकी छन्। उनले भनिन्, “सुरुमा रक्सी पिलाएका रहेछन्। त्यसपछि नांगो बनाएर कुटपिट गरे। त्यसरी अपमानपछि घरमा गएर आत्महत्या गर्न बाध्य पारियो। मर्ने थिएन, मलाई मर्न बाध्य बनायो।”
पीडित परिवारले घटना सम्बन्धी जिल्ला प्रहरी कार्यालयमा चार जनाविरुद्ध किटानी जाहेरी दिएको छ।



कागजपत्र |
