
सामाजिक एकता र शान्ति कायम गर्न प्रहरी महानिरीक्षक खापुङको आग्रह
काठमाडौं- प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले हालैका घटनाक्रमले प्रहरी संरचनामा ठुलो क्षति पुगेको भन्दै नियमित काममा फर्कन कठिन भइरहेको बताएका छन्। आइतबार भिडियो सन्देशमार्फत उनले यस विषम परिस्थितिमा आम नागरिकबाट प्राप्त स्वःस्फूर्त सहयोग र सद्भावको प्रशंसा गरेका छन्।
महानिरीक्षक खापुङले भने, “हाम्रा प्रहरी कार्यालय जलेर ध्वस्त भएका छन्। सवारी साधन, पोसाक लगायतका सामग्रीहरू जलेका वा हराएका छन्, जसका कारण नियमित काम कारबाहीमा फर्कन हामीलाई कठिनाइ भइरहेको छ।”
यस संकटको घडीमा आम नागरिकले प्रहरीलाई कार्यालयमा फर्काउन अभियान चलाएकोमा उनले आभार व्यक्त गर्दै भने, “यहाँहरूले देखाउनुभएको अपनत्वले मलाई भावुक बनाएको छ। यसले समाजमा ‘प्रहरी हाम्रा लागि हो’ भन्ने भावना पुनर्जागृत गरेको छ।”
महानिरीक्षक खापुङले पूर्व प्रहरी, स्थानीय नागरिक, उद्योगी व्यवसायी र सञ्चारकर्मी सबैसँग निरन्तर रचनात्मक सहयोगको अपेक्षा राखेका छन्। साथै, संकटको घडीमा आपसी वैमनस्यता र बदलाभाव त्यागेर देशमा शान्ति सुरक्षा कायम गर्न सबैलाई एकता, सहृदयता र भ्रातृत्व भावका साथ अघि बढ्न आग्रह गरेका छन्।
२३ र २४ भदौमा राजधानीसहित देशका विभिन्न सहरमा जेन-जी पुस्ताले सामाजिक सञ्जालमाथि प्रतिबन्ध, बढ्दो भ्रष्टाचार, नेताका सन्तानको विलासी जीवनशैली र व्याप्त बेथितिको विरोधमा प्रदर्शन गरेका थिए। पहिलो दिन प्रदर्शनकारी मारिएका थिए भने दोस्रो दिन प्रदर्शनकारी र प्रहरी दुवैतर्फ क्षति भएको थियो।
यस क्रममा सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी र तोडफोड भएको थियो। विशेषगरी प्रहरी कार्यालयहरूमा भएको आगजनी, तोडफोड र लुटपाटका दृश्य सामाजिक सञ्जालमा भाइरल भएका छन्।



कागजपत्र |
