‘अनन्त’मा देख्न पाइने भयो कर्मा र लक्ष्मीकाे जाेडी


काठमाडौं – अभिनेता कर्मा र लक्ष्मी बर्देवा पहिलोपटक एकसाथ स्क्रिन शेयर गर्ने भएका छन् । फिल्म ‘अनन्त’मा यो जोडी पहिलोपटक पर्दामा सँगै देखिन लागेका हुन् । फिल्मको शनिबारबाट भक्तपुरमा छायांकन सुरु भएको छ ।

टाइम ट्राभल लभस्टोरी विधाको यो फिल्ममा जेसन लोप्चनको निर्देशन रहनेछ । अस्कर फिल्म कलेजबाट ग्रयाजुएसन गरेका उनले केही लघु फिल्मको निर्देशन गरेका छन् । उनले फिल्मले प्रेमका लागि हदसम्म जाने चरित्रको कथा पेस गर्ने बताए ।

‘आफूले प्रेम गर्ने मानिसको रक्षाका लागि हामी कुन हदसम्म जान सक्छौं, फिल्मको कथा यही नै हो तर यसलाई हामीले साइफाइ फ्लेबर दिएका छौं,’ जेसनले भने । जेसनले आफू क्रिस्टोफर नोलनको प्रशंसक भएको बताउँदै उनका ‘इन्सेप्सन’, ‘टेनेट’ जस्ता फिल्मको शैलीबाट प्रेरित भएर नै ‘अनन्त’ लेखेको जानकारी गराए ।

२० दिनमा सुटिङ सक्ने लक्ष्य लिएर फ्लोरमा गएको फिल्मको पटकथा जेसनले नै लेखेका हुन् । फिल्ममा बबिन दुलालको छायांकन तथा नवविजय श्रेष्ठको निर्माण हुनेछ । रन्जन ढुंगाना र शीतल खड्का सह–निर्माता रहने फिल्ममा तेजबहादुर श्रेष्ठ र दीपेश राउत सहायक निर्माता छन् ।

रेमन मल्ल र सल्लेन सुवाल लाइन प्रोड्युसर छन् । जीवन अधिकारीको समेत अभिनय रहने फिल्म काठमाडौंमा करण श्रेष्ठ र जीजीए ग्रुप मिलेर वितरण गर्नेछन् । फिल्म किपालय प्रडक्सनको ब्यानरमा बन्न लागेको हो ।

प्रतिक्रिया