
‘शाम्बाला’ बन्याे उत्कृष्ट फिल्म, विजय बराल र उपासना सिंह ठकुरी उत्कृष्ट अभिनेता-अभिनेत्री
काठमाडौं — मीन भाम निर्देशित फिल्म ‘शाम्बाला’ ले ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८१’ मा उत्कृष्ट फिल्मको उपाधि जितेको छ। सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा यस फिल्मले उत्कृष्ट निर्देशनको पुरस्कार पनि प्राप्त गरेको हो।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा निर्देशक मीन भामले उत्कृष्ट निर्देशकको पुरस्कार हात पारिन्।
उत्कृष्ट अभिनेताको पुरस्कार ‘पूर्ण बहादुरको सारंगी’ फिल्मबाट विजय बरालले पाए भने, उत्कृष्ट अभिनेत्रीको पुरस्कार ‘खुश्मा’ फिल्मबाट उपासना सिंह ठकुरीले जितिन्।
‘छक्का पञ्जा ५’ बाट दीपकराज गिरीले उत्कृष्ट लेखनको अवार्ड प्राप्त गरे। ‘पिताम्बर’ फिल्मबाट पुरुषोत्तम प्रधान उत्कृष्ट छायाँकार बने भने ‘पुजार सार्की’ बाट भरत रेग्मीलाई उत्कृष्ट सम्पादनको पुरस्कार प्रदान गरियो।
निर्णायक समिति प्रोत्साहन पुरस्कार ‘पुजार सार्की’ फिल्मबाट अभिनेता प्रदीप खड्कालाई दिइएको हो। उत्कृष्ट आदिवासी मातृभाषी चलचित्रको पुरस्कार ‘गालय् वन’ (नेपाल भाषा) ले जित्यो।
समारोह चलचित्र विकास बोर्डको आयोजनामा अध्यक्ष दिनेश डिसीको सभापतित्व र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रममा निर्देशक लक्ष्मीनाथ शर्मालाई नगद ३ लाख ७५ हजारसहित दीर्घ साधना सम्मान प्रदान गरिएको छ।



कागजपत्र |
