चर्चित मोडेलको शव स्टोररुममा भेटियो, परिवारले शव लिन मानेनन्


काठमाडौं – पाकिस्तानी मोडेल तथा अभिनेत्री हुमैरा असगर अली कराँचीस्थित आफ्नै फ्ल्याटमा मृत फेला परेकी छन्। कराँचीको डिफेन्स हाउसिङ अथोरिटी क्षेत्रको चौथो तल्लाको फ्ल्याटमा बस्दै आएकी ३० वर्षीया हुमैरा मंगलबार राति प्रहरीद्वारा मृत अवस्थामा फेला परेकी हुन्।

प्रहरीका अनुसार घरधनीको उजुरीपछि अदालतको आदेशमा फ्ल्याट खाली गराउन ‘बेलिफ’ (सामान जफत गर्ने कर्मचारी) र प्रहरी त्यहाँ पुगेका थिए। ढोका भित्रबाट लक रहेको देखिएपछि फलाम र काठको ढोका तोडेर प्रवेश गर्दा अभिनेत्रीको शव भुइँमा लडिरहेको अवस्थामा फेला परेको थियो। शव धेरै दिन पुरानो भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

कराँची साउथका एसएसपी मेहरोज अलीका अनुसार हुमैरा सन् २०१८ देखि इत्तेहाद कमर्सियल एरियाको फ्ल्याटमा बस्दै आएकी थिइन्। तर, सन् २०२४ देखि उनले घरभाडा तिर्न छाडेपछि घरधनीले अदालतमा मुद्दा दायर गरेका थिए।

प्रहरीका अनुसार जब हुमैराको परिवारलाई जानकारी गराइयो, उनका बुबाले शव लिन अस्वीकार गरे। डीआईजी साउथ असद रजाका अनुसार, “उनी विगत सात वर्षदेखि परिवारसँग सम्पर्कमा थिइनन् र एक्लै बस्दै आएकी थिइन्।” शवको व्यवस्थापन कराँचीको छिपा कल्याणकारी संघले गरेको थियो।

प्रहरी शल्यचिकित्सक डा. सुमैयाका अनुसार शवबाट नमूना संकलन गरिएको छ र पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको वास्तविक कारण पुष्टि हुनेछ। शवको अवस्था निकै बिग्रिसकेको र अनुमानित रूपमा एक महिनासम्मको पुरानो हुनसक्ने प्रारम्भिक आकलन गरिएको छ।

फ्ल्याटमा बिजुली समेत बन्द भएको र स्टोररुमजस्तो ठाउँमा शव भेटिएको बताइएको छ।

प्रतिक्रिया