
भारतमा चोरेर नेपाल ल्याइएका गरगहनासहित ३ जना पक्राउ
कैलाली – भारतको कर्नाटक राज्यको बेङ्गलुरु सहरमा एक भारतीय नागरिकको घरमा चोरी भएको गरगहना तथा नगद रकम नेपाल ल्याएर लुकाइएको अवस्थामा भेटिएपछि जिल्ला प्रहरी कार्यालय कैलालीले ती सामग्रीहरू सम्बन्धित धनीलाई बुझाएको छ।
सन् २०२५ मे २८ मा भारतको डिफेन्स हाउसिङ एरियास्थित एस. रमेश बाबुको घरमा चोरी भएको घटनामा नेपाली कामदार संलग्न रहेको थाहा पाएपछि भारतीय प्रहरीले नेपालको कैलाली प्रहरीसँग समन्वय गरेको थियो।
उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले कालीकोट नरहरिनाथ गाउँपालिका–२ का ४६ वर्षीय उदय बिष्ट र सोही ठाउँका ४५ वर्षीय भैरे बिष्टलाई पक्राउ गरेको छ। सोधपुछका क्रममा ती दुई जनाले चोरी गरेका गरगहनाहरू कैलालीको लम्कीचुहा नगरपालिका–१ निवासी ३० वर्षीय पदम सुनारलाई बिक्री गरेको स्वीकार गरेका थिए।
प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दा चोरी गरिएका थुप्रै गरगहना र नगद रकम बरामद गरेको हो। यी सामग्रीहरू स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा मूल धनी एस. रमेश बाबुलाई बुधबार औपचारिक रूपमा बुझाइएको प्रहरीले जनाएको छ।
बरामद गरिएका सामग्रीहरूमा सुनजस्तो देखिने ९ थान चुरा, ४६४ ग्राम सुनजस्तो देखिने धातु, २३ थान साना–ठूला सुनका टुक्रा, २१६ ग्राम सुन र ४०० ग्राम चाँदीका गरगहनाहरू रहेका छन्। त्यस्तै, भारतीय मुद्रा ४४ हजार १२१ रुपैयाँ, नेपाली रुपैयाँ १२ लाख ९२ हजार ३२०, र विभिन्न देशका विदेशी मुद्रा समावेश रहेको छ।
प्रहरीका अनुसार यस घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको छ।



कागजपत्र |
