
६ महिनापछि काठमाडौं महानगरमा कार्यपालिका बैठक, बजेट पेश गर्ने तयारी
काठमाडौं — लामो समयदेखि रोकिएको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार बस्ने भएको छ। मेयर बालेन साहले शुक्रबार दिउँसो २ बजेका लागि बैठक आह्वान गरेका हुन्। यो बैठक ६ महिनापछि पहिलोपटक बस्न लागेको हो।
महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईंका अनुसार बैठक अघि बिहान ११ बजे बजेट स्रोत समिति र त्यसपछि उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ। यी प्रक्रिया पूरा गरेपछि कार्यपालिका बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति, कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्नेछ।
महानगर कार्यपालिकाको बैठक मासिक रूपमा बस्नुपर्ने कानुनी व्यवस्था भए पनि पछिल्ला महिनाहरूमा आन्तरिक द्वन्द्वका कारण बैठक हुन सकेको थिएन। विशेषगरी काठमाडौं भ्यू टावरको नक्सा पास प्रकरणपछि मेयर साह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँबीच विवाद चुलिएको थियो।
मेयर बालेनले गुरागाईँमाथि नक्सा पासमा अनियमितता गरेको आरोप लगाउँदै उनलाई कार्यालय प्रवेशमा समेत रोक लगाएका थिए। तर, बालेनकै नेतृत्वमा गठन भएको छानबिन समितिले गुरागाईँको दोष प्रमाणित गर्न नसकेपछि नगर कार्यपालिकाभित्र संवादहीनताको अवस्था उत्पन्न भएको थियो। यही कारण महानगरको बजेटसमेत अहिलेसम्म टुंगो लाग्न सकेको थिएन।
यसबीचमा मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृतबिनै कार्यपालिका बैठक राख्ने प्रयास गरे पनि उपमेयर र वडाध्यक्षहरूले त्यसलाई गैरकानूनी भन्दै अस्वीकार गरे। अन्ततः मेयर बालेन प्रमुख प्रशासकीय अधिकृत गुरागाईँसहित बैठक राख्न सहमत भएको स्रोतले जनाएको छ।
अब शुक्रबारको बैठकले बजेट पारित गरी नगर सभामा पेश गर्ने प्रक्रिया अगाडि बढाउनेछ।



कागजपत्र |
