७५ प्रतिशत अनुदानको नाममा लाखौँ असुली, कञ्चनपुर-कैलालीका किसानहरू ठगीको चपेटामा


कैलाली – कृषि उपकरण खरिदका नाममा ७५ प्रतिशत अनुदान पाउने प्रलोभनमा पारिएका गोदावरी नगरपालिका–६ का ११० जना किसान ठगीको शिकार बनेका छन्। ठगिएको भन्दै उनीहरू इलाका प्रहरी कार्यालय मालाखेती हुँदै जिल्ला प्रहरी कार्यालय कैलाली पुगेका हुन्।

सुरो नेपाल नामक संस्थाबाट ठगिएको भन्दै उजुरी लिएर पुगेका किसानहरूलाई इलाका प्रहरी कार्यालय, मालाखेतीले जिल्ला कार्यालयमा किटानी जाहेरी दर्ताका लागि पठाएको हो। इलाका प्रहरीका प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले उजुरी दिन आउने किसानको संख्या धेरै भएकाले जिल्लामा नै जाहेरी दर्ता गर्न सुझाव दिएको बताए।

अनुदानको लोभमा ७० हजारदेखि १ लाख ३० हजारसम्म बुझाए
सुरो नेपालका प्रतिनिधिले २०७८ साउनमा किसानहरूसँग ७५ प्रतिशत अनुदानमा कृषि उपकरण उपलब्ध गराउने भन्दै प्रति किसान ७० हजारदेखि १ लाख ३० हजारसम्म रकम उठाएका थिए। दुई महिनाभित्र उपकरण उपलब्ध गराउने भनिए पनि एक वर्षसम्म कुनै सामग्री नआएपछि किसानहरूले प्रहरीमा उजुरी दिएका हुन्।

वडाध्यक्षकी बुहारी र उनकी आमामाथि संलग्नताको आरोप
किसानहरूले रकम गोदावरी नगरपालिका–६ का वडाध्यक्ष जागुराम चौधरीकी बुहारी प्रियङ्का चौधरीमार्फत बुझाएको बताएका छन्। स्थानीय मिरा चौधरीका अनुसार विश्वासले ७० हजार बुझाइन्, तर अहिलेसम्म पावर टिलर नपाएकी हुन्। धनीराम चौधरीले पनि यस्तै अनुभव सुनाएका छन्।

सुरो नेपालकी अध्यक्ष सुशीला खड्का (ओझा) कञ्चनपुरको ठगी मुद्दामा पक्राउ परेपछि मात्रै आफूहरू ठगिएको थाहा पाएको किसानहरूले बताएका छन्। उनका साथमा सुनिता चौधरी नामकी महिला पनि पक्राउ परेकी छन्, जो प्रियङ्काकी आमा हुन्।

वडाध्यक्षले अस्वीकार गरे संलग्नता
वडाध्यक्ष जागुराम चौधरीले रकम उठाउनेमा आफ्नै बुहारी प्रियङ्का भए पनि आफू भने संलग्न नरहेको दाबी गरेका छन्। उनले “मैले वडाबाट कुनै स्वीकृति दिएको छैन,” भन्दै आफ्नो भूमिका नकारेका छन्। प्रियङ्काले भने पत्रकारहरूको फोन कल उठाएर बोल्न अस्वीकार गरेकी थिइन्।

कञ्चनपुरदेखि बाँकेसम्म फैलिएको ठगी
सुरो नेपालले गोदावरी मात्र नभई कैलालीका अन्य पालिकाहरू, कञ्चनपुर, बाँके र बर्दियाका किसानहरूबाट पनि रकम उठाएको खुलेको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट उजुरी दर्ता भएपछि जेठ १७ गते सुशीला खड्का (ओझा) काठमाडौँबाट पक्राउ परेकी थिइन्। उनलाई जिल्ला अदालत कञ्चनपुरले पुर्पक्षका लागि थुनामा पठाइसकेको छ।

प्रतिक्रिया