
मानव अधिकार आयोगको आग्रह: स्वास्थ्य सेवा तत्काल सञ्चालन गर्नुस्
काठमाडौं – राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्यजस्तो अत्यावश्यक सेवा बन्द हुँदा लाखौँ नागरिकको जीवन जोखिममा पर्ने गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल सेवा सञ्चालन गर्न आग्रह गरेको छ।
आयोगले स्वास्थ्य क्षेत्र गम्भीर र अत्यावश्यक सेवा भएकाले पेसागत मर्यादा कायम राख्दै सबै चिकित्सकलाई जिम्मेवार ढंगले व्यवहार गर्न आग्रह गरेको हो। आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा चिकित्सक संघ र नेपाल सरकारलाई सार्थक वार्ता तथा कानुनी प्रक्रियाबाट समाधान खोज्न र तत्काल स्वास्थ्य सेवा पुनः सञ्चालन गर्न सुझाव दिइएको छ।
उपभोक्ता अदालतको निर्णयविरुद्ध असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघको अगुवाइमा चिकित्सकहरूले सोमबारदेखि मुलुकभर आकस्मिक र सघन कक्षबाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन्। यसले सर्वसाधारण नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारलाई गम्भीर असर पारेको आयोगको ठहर छ।
आयोगले सेवा बन्दको निर्णय नेपालको संविधानको धारा ३५ (स्वास्थ्यसम्बन्धी अधिकार) र धारा ४४ (उपभोक्ताको हक) को उल्लंघन भएको जनाएको छ। साथै, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसम्बन्धी अन्तरराष्ट्रिय महासन्धिको धारा १२ तथा मानव स्वास्थ्यसँग सम्बन्धित प्रचलित कानुनहरूको समेत उल्लंघन भएको भन्दै गम्भीर आपत्ति जनाएको छ।
आयोगमा नागरिकहरूले स्वास्थ्य सेवा नपाएको भनी उजुरीहरू पनि परेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “स्वास्थ्य सेवाजस्तो अत्यावश्यक सेवा बन्द गर्नु संविधान विपरीत कार्य हो।”
आयोगले जिम्मेवार पक्षहरूलाई वार्ता, संवाद र कानुनी बाटो अपनाएर समस्या समाधान गर्दै स्वास्थ्य सेवा सुचारु गर्न पुनः आग्रह गरेको छ।



कागजपत्र |
