नेटफ्लिक्समा सबैभन्दा धेरै हेरिएको शो बन्यो ‘स्क्विड गेम-३’


सियोल- दक्षिण कोरियाली हिट श्रृंखला स्क्विड गेमको तेस्रो र अन्तिम सिजनले नेटफ्लिक्सको ग्लोबल चार्टमा शीर्ष स्थान हासिल गर्दै नयाँ रेकर्ड बनाएको छ। नेटफ्लिक्सका अनुसार, श्रृंखलाले सार्वजनिक भएको तीन दिनमै ६०.१ मिलियन पटक हेरिएको छ, जुन अहिलेसम्मकै उच्च संख्या हो।

जुन २३ देखि २९ सम्मको साप्ताहिक चार्टमा स्क्विड गेम सिजन ३ सबैभन्दा धेरै हेर्निएको शो बन्यो। दोस्रो स्थानमा रहेको स्पेनिश श्रृंखला ओलम्पो भन्दा लगभग दश गुणा बढी दर्शक स्क्विड गेम ले पाएको छ।

नेटफ्लिक्सका अनुसार, यो सिजन नेटफ्लिक्सको शीर्ष १० सूची राख्ने ९३ वटै देशमा नम्बर १ मा पर्न सफल पहिलो शो बनेको छ।

नयाँ सिजनको लोकप्रियताले अघिल्ला दुई सिजनहरूलाई पनि पुनः चर्चामा ल्याएको छ। दोस्रो सिजन नम्बर ३ मा र पहिलो सिजन नम्बर ६ मा रहेको छ।

श्रृंखलाको पहिलो सिजनमा मुख्य पात्र सियोङ गी–हुन (ली जुंग–जे) को एक घातक बालखेलामा बाँचेको संघर्ष देखाइएको थियो। स्रष्टा ह्वाङ डोङ–ह्युकद्वारा निर्मित यो सिजन नेटफ्लिक्सको इतिहासमै सबैभन्दा धेरै हेरिएको शो बनेको थियो।

तेस्रो सिजनको समिक्षात्मक प्रतिक्रिया अपेक्षाकृत सकारात्मक रहेको छ।  नेटफ्लिक्सले यो शोको लोकप्रियतालाई व्यापारिक साझेदारी र लाइभ इभेन्टमार्फत अझ व्यापक बनाएको छ। गत शनिबार सियोलको क्वाङह्वामुन स्क्वायरमा आयोजना गरिएको एक विशेष परेड र फ्यान इभेन्टमा ४० हजारभन्दा बढी दर्शक सहभागी भएका थिए।

 

प्रतिक्रिया