
हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने भन्दै ५० हजार असुली गर्ने दुई जना पक्राउ
सुर्खेत- प्रहरी हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने भन्दै ५० हजार रुपैयाँ असुली गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दिया गेरुवा गाउँपालिका–३ शान्तिबजार स्थायी निवासी तथा हाल सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० मा डेरा गरी बस्ने ४३ वर्षीय कृष्णबहादुर थारू र वीरेन्द्रनगर नगरपालिका–१३ इन्द्रपुरकी ३४ वर्षीया मुना चन्द रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले हिरासतमा रहेका व्यक्तिका परिवारसँग ‘प्रहरी मिलाइदिन्छौं, नत्र जेल जान्छ’ भन्दै धम्की दिँदै ५० हजार रुपैयाँ उठाएका थिए। प्रारम्भिक अनुसन्धानमा उनीहरूले मुद्दा मिलाइदिने आश्वासन दिएर आपराधिक लाभ (एक्सटर्सन) लिएको खुलेको छ।
थारू र चन्दले अभद्र व्यवहारको कसुरमा पक्राउ परेका प्रतिवादीको नाममा रहेको मुद्दा मिलाइदिने भन्दै पैसा असुलेको खुलेको हो। उनीहरूविरुद्ध अदालतबाट म्याद लिइ अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले यस्ता कार्य आपराधिक लाभ उठाउने गम्भीर अपराध भएको भन्दै अनुसन्धान थप गहिरो बनाइएको जनाएको छ।



कागजपत्र |
