नाबालिकालाई यौनधन्दामा लगाएको आरोपमा आलिया पक्राउ


पर्सा — नयाँ कपडा किनिदिने प्रलोभनमा पारेर नाबालिकालाई भारतको रक्सौल पुर्‍याई यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ परेकी छिन्।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया आलिया खातुन रहेको पर्सा प्रहरीले जनाएको छ। पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार उनलाई वैशाख २७ गते पक्राउ गरिएको हो।

मिश्रका अनुसार, वैशाख २१ गते ती नाबालिकालाई खातुनले नयाँ लुगा किनिदिने भन्दै भारत लगेर बिहारस्थित रक्सौलको एक होटलमा यौनधन्दामा संलग्न गराएकी थिइन्। घटनापछि भारतीय सुरक्षाकर्मीको सहयोगमा नेपाली प्रहरीले पीडित नाबालिकाको उद्धार गरी नेपाल फर्काएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा खातुन यसअघि पनि नाबालिकाहरूलाई भारत पुर्‍याई यौनधन्दामा संलग्न गराउने कार्यमा संलग्न रहेको खुलेको छ।

खातुनविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसारको मुद्दा दायर गरी अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया