नेवानिको पूरानै ‘रोग’ले इटालीमा अलपत्र छ वाइडबडी, अध्यक्ष अधिकारीले यसरी झुक्याइदिए
एक महिनामै फर्कने भनिएको जहाज ७२ दिनसम्म पनि उतै
काठमाडाैं- गत ८ असारमा विस्तृत मर्मत (सी-चेक) का लागि इटाली गएको नेपाल वायुसेवा निगम(नेवानि)को एउटा वाइडबडी जहाज ८२ दिनपछि गत भदौ २७ काठमाडौं फर्किएको थियाे । निगमको एयरवसको ए३३० को (एन एएलवाई अन्नपूर्ण) नामक जहाज ३० दिनमा फर्किनेगरी इटाली पुगेको थियाे । तर, नेवानिकाे लापरवाहीले सि–चेकको क्रममा इटाली पुगाइएकाे जहाज फर्किन ८२ दिन लागेकाे थियाे ।
नेवानिको सोही प्रवृति फेरि दोहोरिएको छ । सी-चेककै लागि भदौ १२ गते इटाली पठाइएको अर्को वाइडबडी (एन–एएजेड) पनि उतै अलपत्र परेकाे छ । जहाज इटाली उडेको भोलिपल्टै निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा एक महिनाभित्र जहाज मर्मत भएर आउने जानकारी गराएका थिए । तर, आज ७२ दिन पुग्दा पनि २७४ सिट क्षमताको वाइडबडी जहाज फर्कने सुरसार छैन । उनले समितिलाई जहाज मर्मतका लागि आवश्यक पार्टस्हरू पहिले नै अर्डर गरेर तयारी अवस्थामा राखिएको र जहाज छिटोभन्दा छिटो मर्मत हुने बताएका थिए । तर, अहिले आएर उनले समितिलाई झुक्याएको पुष्टि भएको छ ।
उता जहाज मर्मत गर्ने मिति नाघिसक्दा पनि निगम व्यवस्थापनले कुनै चासो देखाएको छैन । उसले मर्मतको जिम्मा पाएको इटलीको एटिटेकलाई बिलम्ब गरेको भन्दै कुनै कारबाही गर्ने तयारी गरेको छैन । तर, मर्मतको अवस्थाबारे बुझ्ने भन्दै नेवानिका कर्मचारीहरु धमाधम उता घुम्न गइरहेका छन् । यो बारेमा निगम प्रवक्ता रमेशलाई बुझ्दा उनले अझै जहाज फर्कने मितिबारे भन्न नसकिने बताए । उनले जहाज मर्मतको काम जारी रहेकाले छिट्टै फर्कने दाबी गरे ।
उतिबेला सि–चेकका लागि इटाली पठाइएको पहिलाे जहाज नफर्कदै अर्को वाइडबडीलाई पनि उतै पठाएपछि निगमका अध्यक्ष युवराज अधिकारीलाई सरकारले स्पष्टीकरण सोधेको थियो । एकैपटक दुईवटा विमान सी-चेकका लागि पठाएको भन्दै स्पष्टीकरण सोधेपछि निगम अध्यक्ष अधिकारीले नेपाल नागरिक उड्डयन प्राधिकरणका र सरकारकै असहयोग गरेका कारण निगमले राम्रोसँग काम गर्न नसकेको जवाफ दिएका थिए । तर, निगम नेतृत्वले नियामक निकाय उड्डयन प्राधिकरणसँग अनुमति नै नलिई जहाज इटाली पुर्याएको थियो ।
नेवानिले सी–चेकका लागि आव्हान गरेको टेण्डरमा चीनको ग्राण्ड चाइना एभिएसन र इटलीको एटिटेकले आवेदन दिएका थिए । ग्राण्ड चाइना एभिएसनले २० दिनमा र एटिटेकले ३० दिनमा जहाज सी–चेक गर्ने उल्लेख गरेका थिए । एटिटेकले ७ लाख ३४ हजार २५० र ग्राण्ड चाइना एभिएसनले ७ लाख ९८ हजार ५ सय अमेरिकी डलर प्रस्ताव गरेका थिए ।
ग्राउन्ड चाइनाले २० दिनमै सी–चेक गर्ने भनेतापनि ३० दिन लगाउने अधिकारीको सेटिङ भएको एटिटेकलाई ठेक्का दिइएको थियो । सी–चेक गर्न लाग्ने अवधिमा १० दिन कम हुँदा वाइडबडीले छिट्टै उडान भर्दा आम्दानी बढ्थ्यो भने, कम दूरीमा रहेको चिन जाँदा इन्धन पनि कम खर्च हुने जानकार बताउँछन् । तर, निगमका अध्यक्ष अधिकारीको स्वार्थमा नेवानीलाई बढी खर्च भार पारिएको चर्चा उतिबेला चलेकाे थियाे ।