फरार इन्सपेक्टर बिनु जोडिएको ‘हनी ट्रयाप’ प्रकरण संगठित अपराध मुद्दामा रुपान्तरण
काठमाडाैं- ‘हनी ट्रयाप’मा पारेर ३० लाख रुपैयाँ असुल गरेको घटनाको अनुसन्धान ललितपुर प्रहरीले संगठित अपराध कसुरमा गर्ने भएको छ । यसअघि आपराधिक लाभ कसुरमा अनुसन्धान गरेको प्रहरीले घटनाको प्रकृति जटिल देखिएपछि आपराधिक लाभ र संगठित अपराधमा समेत अनुसन्धान गर्ने भएको हो ।
अब भने संगठित अपराधमा समेत अनुसन्धान गर्न ललितपुर प्रहरीले जिल्ला अदालत ललितपुरबाट अनुमति पाइसकेको ललितपुर प्रहरी स्रोतले बताएकाे छ ।
जिल्ला प्रहरी परिसर, ललितपुरले हाल सहायक हवल्दार महेन्द्र हमालसँगै समूहका नाइके इटहरीका ताज इस्लाम, युवती सुस्मा विक, भीमादेवी थापालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ।
ताजकाे समूहले ललितपुरका एक व्यवसायीबाट असोज ६ गते बलात्कार मुद्दामा फसाउने भन्दै भैंसेपाटी प्रहरी प्रभागका तत्कालीन प्रहरी प्रमुख निरीक्षक बिनुकुमारी शाहीलाई नै प्रभावमा पारेर ३० लाख रुपैयाँ असुल गरेका थिए ।
प्रहरी निरीक्षक शाहीमाथि अनुसन्धान गर्न समेत जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी जारी गरिसकेको छ । घटनालगत्तै प्रहरी प्रधान कार्यालयले शाहीलाई रानीपोखरी तानेर निलम्बन गरेको थियो । हाल उनी फरार छन् ।
प्रहरीले इन्सपेक्टर शाहीलाई भने पक्राउ गर्न चासो दिएको छैन । फरार अवस्थामै उनी पत्रकार तथा पीडित लगायतलाई धम्काउने गतिविधिमा सक्रिय छिन् । फरार अवस्थामै उनले चलखेल गरिरहेकी छिन् ।
इन्सपेक्टर शाहीले गिरोहका नाइके इस्लामको मोबाइल समेत प्रहरी कार्यालयबाट गायब बनाएकी छिन्। सो मोबाइलमा इन्सपेक्टर शाहीदेखि माथिल्लो तहका प्रहरीसँगको उनको कुराकानीहरु थिए ।
साे समूहले युवतीहरूलाई प्रयोग गर्ने र बलात्कारको उजुरी दिने भन्दै युवाबाट माेटो रकम असुल गर्ने गरेको खुलेको छ ।