निलम्बित इन्सपेक्टरलाई मुद्दा चलाउनुपर्ने रायको प्रतिवेदन हेडक्वाटरमा


काठमाडौं-  ‘विवादित’ इन्सपेक्टर बिनुकुमारी शाहीमाथि छानबिन गर्न बनाइएको समितिले बुझाएको छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालय नक्साल पुगेको छ । छानबिन सकाएर बुझाइएको समितिको प्रतिवेदन उपत्यका प्रहरी कार्यालय रानीपोखरी हुँदै हेडक्वार्टर पुगेको हो।

हिजो नै प्रतिवेदन नक्साल बुझाइएको र इन्सपेक्टर शाहीमाथि थप कारबाही प्रक्रिया अगाडि बढाइएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं एआईजी किरण बज्राचार्यले जानकारी दिईन् । उनका अनुसार छानबिन प्रतिवेदन अनुसार हेडक्वार्टरले थप प्रक्रिया अगाडि बढाउने छ ।

छानबिन समितिले शाहीमाथि कारबाही सिफारिस गरेको स्रोतले जनाएको छ। ललिपुरका एक व्यवसायीलाई ‘हनी ट्रयाप’मा पारेर ३० लाख रुपैयाँ असुल गरेको घटनामा शाहीलाई नै मुद्दा चलाउनुपर्ने रायसहित छानबिन समितिले प्रतिवेदन बुझाएको हो।

ललितपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरहरि अधिकारी नेतृत्वको छानबिन समितिले तत्कालीन भैँसेपाटी प्रहरी प्रभागका प्रमुख समेत रहेकी इन्स्पेक्टर बिनुकुमारी शाहीलाई मुद्दा चलाउने आधार देखिएको भन्दै सोही सिफारिस गरेको जनाइएको छ। घटनामा शाहीको भूमिका शंकास्पद देखिएपछि समितिले यसअघि निलम्बन गर्न सिफारिस गरेको थियो । हाल उनी निलम्बित छन् ।

असोज ६ गते इटहरीका ताज स्लाम र दर्शन पोखरेलको योजनामा सुस्मा विकले एक व्यवसायीलाई ३० लाख नदिए बलात्कार मुद्दामा फसाउने भन्दै प्रहरी नै प्रयोग गरी रकम असुल गरेका थिए । घटना लगत्तै बनेको समितिले मंगलबार प्रतिवेदन ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनाललाई बुझाएका थिए ।

ललितपुर प्रहरीले बुधबार प्रतिबेदन उपत्यका प्रहरी कार्यालय रानीपोखरी बुझाएको थियो । त्यसपछि प्रतिवेदनमा देखिएका कुराको कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालय पठाइएको जनाइएको छ ।

प्रहरी थुनामा रहेका ताजसँग एसपी कमल थापाको समेत सम्बन्ध देखिएको प्रतिवेदनमा उल्लेख छ । उनीमाथि समेत छानबिन गर्नुपर्ने देखिएको रानीपोखरी प्रहरी स्रोतले जानकारी दियो । उनी पनि विवादित प्रहरी नै हुन् । उनको नाम बेलाबखत विवादमा मुछिदै आएको छ ।

उनीमाथि पनि छानबिन गर्न हेडक्वार्टरले अर्को छानबिन समिति गठन गरेको स्रोतको दाबी छ । स्रोतका अनुसार एसएसपी दिपेन्द्र जिसीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाएको छानबिन थालिएको हो  ।

हेडक्वार्टरका प्रवक्ता डिआईजी दानबहादुर कार्कीले पनि समिति गठन भएर अनुसन्धान थालिएको जनाएका छन् । अनुसन्धानपछि थप कारबाही अगाडि बढाइने उनको भनाई छ ।

प्रतिक्रिया