आइजिपी कुँवरविरुद्ध अख्तियारमा उजुरी, छानबिन सुरु


काठमाडाैं- नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनीविरुद्ध  केदार भण्डारीले अख्तियारसहित प्रधानमन्त्री कार्यालय, प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समिति र गृह मन्त्रालयमा पनि उजुरी दिएका हुन् ।

कुँवरले प्रहरी सरुवा तथा बढुवामा आर्थिक लेनदेन गरेको, व्यापारीसँग असुली गरेकाे, तस्करबाट पैसा उठाएकाे लगायतका विभिन्न आराेपसहित उजुरी परेकाे स्राेतले जानकारी दिएकाे छ । उजुरीपछि अख्तियारले  छानबिन प्रक्रिया सुरू गरिसकेकाे स्राेतले बताएकाे छ।

स्राेतका अनुसार कुँवरले गत १० साउनमा मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाले २८९ जना लेखापाल सरुवा गर्दा प्रतिव्यक्ति २ देखि ७ लाखसम्म असुलेकाे उजुरीमा उल्लेख छ । यस्तै कुँवर मधेश प्रदेशमा (डिआइजी) भएको बेला हुन्डी कारोबारी र तस्करबाट नियमित उठाउन आफूअनुकूलका एसपीहरू पठाएको उजुरीमा दाबी गरिएको छ । त्यस्तै  पूर्व एआइजी श्यामलाल ज्ञवालीसँग आर्थिक लाभ लिएर छानबिन तुहाएको पनि उजुरीमा उल्लेख छ ।

७ असोज गते कुँवरले माेटाे रकम असुलेर एकै दिन ४१ जना प्रहरी उपरीक्षक (एसपी) र १४३ जना नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेकाे पनि उजुरी उल्लेख छ । उनलाई  दक्षकुमार बस्नेतले २० लाख, राजकुमार श्रेष्ठले १५ लाख, जयश्वर रिमालले ३० लाख र दानबहादुर थापाले ३ लाख बुझाएका उजुरीमा उल्लेख छ । ती सरुवामा आर्थिक चलखेल भएको भन्दै कागजपत्रले समाचार प्रकाशित गरेको थियो ।

यसैगरी आइजिपी कुँवरले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा एसएसपी भएको बेला तस्करीमा संग्लन चिनियाँ नागरिकविरुद्ध अपरेशन चलाएर करोडौं उठाएको पनि आरोप छ । उनले रवि लामिछाने गृहमन्त्री भएको बेला उनका स्वकीय सचिव दीपक बोहोरासँग सरुवा र बढुवामा आर्थिक लेनदेन गरेको आरोप पनि लागेको छ ।

 

 

प्रतिक्रिया