शिखर इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न


काठमाडौं – शिखर इन्स्योरेन्स कम्पनी लिमीटेडको १५ औं र १६ आंै वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ गरी दुवै वर्षको वार्षिक साधारणसभा थापाथलीस्थित कम्पनीको आफ्नै मुख्य कार्यालय भवन शिखर बिज सेन्टर परिसरमा सम्पन्न भएको हो ।

संचालक समितिका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७५÷७६ र २०७६÷७७ को संचालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ ।

यस्तै, ती दुवै आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरणउपर छलफल गरी सोलाई समेत पारित गरेको छ । सभाले २०७७÷७८ का लागि लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने तथा आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षकको नियुक्ति पनि अनुमोदन गरेको छ ।

संचालक समितिबाट प्रस्ताव गरिएको २०७७ असार मसान्तसम्म कायम सेयर पूँजीमा ३६.१ प्रतिशत बोनस सेयर पारित गरेको छ । यस्तै, सो बोनस सेयरको कर प्रयोजनार्थ २०७७ असार मसान्तसम्म कायम सेयर पूँजीमा १.९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गरेको छ ।

साधारणसभाबाट कम्पनीको अधिकृत पूँजी वृद्धि गरी रु.४,०००,०००,०००(रु चार अर्ब) पुर्याउने प्रस्ताव समेत पारित भएको छ । सोही बमोजिम कम्पनीको प्रबन्धपत्र र नियमावली पनि संसोधन गर्ने अजेण्डा पारित भएको छ ।

प्रस्तावित बोनस सेयर पश्चात कायम हुने कम्पनीको चुक्तापूँजीमा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशतबाट ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४० प्रतिशतबाट ४९ प्रतिशत पुर्याई संस्थापक सेयर र सर्वसाधारण सेयरको अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव समेत पारित भएको छ ।

बोनस सेयरपश्चात कायम हुने कम्पनीको चुक्तापूँजीको ३० प्रतिशतको दरले हकप्रद सेयर जारीको प्रस्ताव समेत साधारणसभाबाट पारित भएको छ ।

यसैगरी, साधारणसभाबाट सर्वसाधारण सेयरधनी समूह ‘ख का सेयरधनीबाट निर्वाचित हुने २ संचालकका लागि निर्वाचन समेत भएको छ । दिनेशबज्र बज्राचार्य र स्कन्दकुमार अमात्य यो समूहबाट संचालकमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया