लत लगाएकाे भन्दै टिकटक, फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालविरुद्ध मुद्दा


काठमाडाैं- क्यानडाका २४ वर्षीय युवकले टिकटक, फेसबुक, इन्स्टाग्राम, युट्युब, रेडिट लगायतका सामाजिक सञ्जाल विरुद्ध मुद्दा दायर गरेका छन् । सामाजिक सञ्जालका ती माध्यम अत्यधिक लत लगाउने किसिमको भएको आरोप लगाउँदै त्यहाँको स्थानीय अदालतमा मुद्दा दायर गरिएको सीटीभी टेलिभिजन नेटवर्कले जनाएकाे छ ।

ती सामाजिक सञ्जालका माध्यम अत्यधिक लत लगाउने किसिमको भएकाले रचनात्मक क्षमतामा ह्रास आएको उनले बताएका छन् । सन् २०१५ देखि निरन्तर सामाजिक सञ्जाल प्रयोग गर्दा शारीरिक रूपमा पनि असर परेको उनको भनाइ छ ।

यो मुद्दा अहिले मोन्टरियल सहरमा रहेको एक ‘ल फर्म’ ल्यामबर्ट एभोक्याट्सले व्यवस्थापन गरिरहेको छ । सो मुद्दामा सामाजिक सञ्जालका माध्यम प्रयोगकर्ताको मष्तिष्कलाई डोपामिन उत्पादन गर्न प्रेरित गर्ने गरेको आरोप लगाइएको छ । डोपामिन यस्तो रसायन हो, जसले हामीलाई आनन्द र खुसीको अनुभूति गराउँछ । जे कुराले डोपामिन उत्पादन गर्न प्रेरित गर्छ, हामीलाई त्यसैको लत लाग्छ ।

उक्त मुद्दामा सामाजिक सञ्जालका प्लेटफर्मसँग क्षतिपूर्ति माग गर्नुका साथै कारबाही गर्न समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया