
बाढी र पहिरोका कारण विभिन्न मुख्य राजमार्ग अवरुद्ध, कुनको अवस्था कस्तो ?
काठमाडौं – बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा असर परेको छ।
बाढीका कारण रसुवाका मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। अर्को सूचना नभएसम्मका लागि सडक बन्द रहने प्रहरीले जनाएको छ।
पृथ्वीराजमार्ग अन्तर्गत धादिङकाे गजुरी गाउँपालिका-२ चालिसेमा पहिरो जाँदा सडक एकतर्फी रूपमा मात्र सुचारु रहेको छ।
बाढीका कारण बेशीसहर हुँदै खाङसारसम्म जाने मनाङ सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। कालिगण्डकी करिडोर अन्तर्गत जैमिनी नगरपालिका-८ बेलबगरमा पहिरो जाँदा सडक एकतर्फी सञ्चालनमा छ। बेनी-जोमसोम सडक खण्ड अन्तर्गत रघुगंगा गाउँपालिका-२ बैसरी र अन्नपूर्ण गाउँपालिका-३ सुकेबगरमा पहिरो जाँदा यातायात पूर्ण रूपमा ठप्प छ।
त्यस्तै बेनी-दरबाङ सडकको बेनी नगरपालिका-४ घुमाउने भिरमा पनि पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ। मुस्ताङकै जोमसोम-कोरला सडक खण्ड अन्तर्गत थासाङ गाउँपालिका-४ काब्रेभिर र लो-घेक र दामोदरकुण्ड गाउँपालिका-२ मा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
यता नवलपरासी कालीगण्डकी करिडोर अन्तर्गत बुलिङटार गाउँपालिका-६ सेल्फीडाँडा/घुमाउरी घाटमा सडक एकतर्फी सुचारु छ। साथै, बौद्धिकाली गाउँपालिका-३ जन्ती पहिरोमा पनि कालीगण्डकी करिडोर एकतर्फी सञ्चालनमा छ, जहाँ ठुला सवारी साधन भने जान सक्ने अवस्था छैन।
कर्णाली करिडोर अन्तर्गत खार्पुनाथ गाउँपालिका-१ मुसेडि र सर्केगार्ड गाउँपालिका-६ स्यालतडीमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध छ। यसैगरी, सिमकोट-हिल्सा सडक खण्ड अन्तर्गत नाम्खा गाउँपालिका-४ यालबाङ र सिमकोट गाउँपालिका-७ ठाडोढुङ्गामा पनि पहिरोका कारण यातायात पूर्ण रूपमा ठप्प रहेको छ।



कागजपत्र |
