कैलालीकी १७ वर्षीया किशोरी ‘लिभिङ टुगेदर’मा, सम्बन्ध टुटेपछि प्रेमीकै साथीले गरे सामूहिक बलात्कार


काठमााडाैं– कैलालीकाे गोदावरी नगरपालिका–३ की १७ वर्षीया किशोरी ७ महिनासम्म प्रेमीसँग लिभिङ टुगेदरमा बसिन् । तर, सम्बन्धमा दरार आएपछि उनीहरू अलग भए । तर, उनका पूर्व प्रेमीले आफ्ना साथी पदम थापालाई  किशोरीले सहजै शारीरीक सम्बन्ध राख्न दिने भन्दै माया जालमा पार्न सुझाव दिन्छन् ।

साेही सल्लाह अनुसार गोदावरी नगरपालिका–१० का २२ वर्षीय थापाले फेक फेसबुक आइडी बनाएर किशाेरीलाई फ्रेन्ड रिक्वेष्ट पठाउँछन् ।

दुवै जना फेसबुकमा साथी भएपछि कुराकानी गर्न थाल्छन् । साउन दोस्रो सातातिर थापाले  किशोरीलाई राति साढे ११ बजे भेट गर्ने प्रस्ताव गर्छन् । किशोरीले युवकको प्रस्ताव सहजै स्वीकार गर्छिन् र घरको गेट बाहिर आइराख्ने भन्दै लोकेशन दिन्छिन् ।

किशोरीले दिएको लोकेशनका आधारमा थापा एकजना अर्का विक थरका साथीसँगै उनको घरको बाहिर पुग्छन् । उनीहरु त्यहाँबाट मोटरसाइकल चढेर किशोरीसहित गोदावरीको मालाखेती सामुदायिक वनको जंगलतर्फ लाग्छन् ।

जंगलमा पुगिसकेपछि थापाले किशोरीमाथि बलात्कार गर्छन् । एकैछिनमा फिल्मी शैलीमा तीन जना युवाहरु पनि त्यहाँ आउँछन् ।  तीनै जनाले थापा र बिक थरका उनका साथीलाई यति राति जंगलमा केटी ल्याएर जथाभावी गर्ने भन्दै कुटपिट गरेजस्तो गर्छन् ।

त्यसपछि थापा र विक उनीहरु दुवै जना त्यहाँबाट मोटरसाइकल चढेर घरतिर भाग्छन् । त्यसपछि किशोरीलाई तीन जनाको समूहमा रहेका मध्येका एक युवकले बलात्कार गर्छन् । अन्य २ जना भने त्यहाँबाट जान्छन् । किशोरीमाथि करणी गरिसकेपछि राति करीब साढे १ बजेको समयमा उनै युवकले मोटरसाइकलमा राखेर घरमा पुगाइदिन्छन् ।

यसरी किशाेरीकै पूर्व प्रेमीका साथीहरूले उनीमाथि सामूहिक बलात्कार गर्छन् । त्याे रात घटनास्थलमा पुगेका अन्य युवाहरू पनि उनकै पूर्व प्रेमीका साथीहरू रहेकाे खुलेकाे छ । लिभिङ टुगेदरमा रहेका प्रेमीसँग सम्बन्ध बिग्रिएपछि किशोरी उनकै साथीबाट सामूहिक बलात्कारको सिकार भएको प्रहरी अनुसन्धानबाट देखिएको हो । उनीहरु पाँचै जनाले योजनाबद्ध रुपमा युवतीलाई जंगलमा लगेर जबरजस्तीकरणी गरेको देखिएकाे प्रहरी स्रोत बताउँछ ।

घटनापछि अपरिचित युवाको समूहले आफूमाथि बलात्कार गरेकाे भन्दै  किशोरी इलाका प्रहरी कार्यालय मालाखेती पुग्छिन् । युवतीले अहिले पूर्वप्रेमीसहितका ६ जनाको नाममा किटानी जाहेरी दिएकी छन् ।  प्रहरीले फेक फेसबुक आईडीमा भेटिएको इमेल आईडीका आधारमा थापाको पहिचान गर्छ ।

बलात्कार गरेको आरोपमा उनका पूर्व प्रेमीका साथी समेत रहेका गोदावरी नगरपालिका–१० का २२ वर्षीय पदम थापालाई इलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ गरेको छ भने अन्य पाँच जना फरार भएका छन् ।

फरार हुनेमा किशोरीमाथि गोदावरीको जंगलमा सामूहिक बलात्कार गर्ने युवक, उनीहरुलाई सघाउने अन्य तीन र किशोरीका पूर्व प्रेमी रहेको प्रहरीले जनाएको छ । फरार भएकाहरुको खोजी जारी राखिएको छ ।

 

 

प्रतिक्रिया