अवैध लागूऔषधसहित देशभरबाट पाँच जना पक्राउ


काठमाडौं – प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ ।

जसमा मोरङ, विराटनगर महानगरपालिका-१६ यादव टोल बस्ने ४३ वर्षीया भोलिमाया यादवलाई अवैध लागूऔषध गाँजा १ किलो ८० ग्राम र नगद २ लाख ४१ हजार ५ सय रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

त्यस्तै, मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ चुरीमाई नजिकै पिपल चौतरास्थित सडकबाट अवैध लागूऔषध चरेश १० किलो २ सय ५० ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा नवलपरासी पश्‍चिम रामग्राम नगरपालिका-८ बस्ने ४३ वर्षीय अनिल भर चौधरी र पर्सा सखुवा प्रसौनी गाउँपालिका-१ सथवल बस्ने २७ वर्षीय हरी गौरब रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना ६ ख ५८३९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त चरेश सहित पक्राउ गरेको हो ।

त्यसैगरी झापा, शिवसताक्षी नगरपालिका-८ रत्न चोक बस्ने २४ वर्षीय फुर्वा तामाङलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै, पर्साको ठोरी गाउँपालिका-२ सुन्दरबस्ती बस्ने ३० वर्षीया अनिता गुरोलाई अवैध लागूऔषध गाँजा करिब ५० किलोग्राम सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । हाल फरार अनिताको श्रीमान् नन्दु गुरोको प्रहरीले खोजी गररहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया