सिस्टमले काम नगर्दा एमजीको इभी गाडी भयानक दुर्घटना


काठमाडौं – नेपालमा पछिल्ला दिनमा इलेक्ट्रिक गाडी (इभी) को प्रयोग बढ्दै गइरहेको छ । प्रयोग बढ्दै गएपछि विभिन्न कम्पनीहरुले इभी गाडीहरुको आकर्षक विज्ञापनका साथ बजार प्रवर्द्धन गरिरहेका छन् ।

विज्ञापनकै भरमा ग्राहकहरुसम्म पुगेका एमजी कम्पनीको इभीमा भने एकपछि अर्को समस्या देखिएको छ ।

यही असार १८ गते राजधानीकै मुटु त्रिभुवन विमानस्थलमा टर्निङ मोड्न खोज्दा प्राविधिक समस्या देखिएपछि एमजीको गाडी दुर्घटनामा पर्यो । सो दुर्घटनामा चालक गम्भीर रुपमा घाइते भएकी छन् । बागमती प्रदेश ०१ ०२७ च १५९० नम्बरको एमजीको गाडी स्टार्ट गर्नासाथ एक्कासी हुत्तिएर दुर्घटना हुँदा ट्याक्सीलाई ठक्कर दिएको थियो । उक्त गाडी स्टार्ट गर्नासाथ सिस्टमले काम नगरेपछि एक्कासी हुत्तिएको देखिएको प्रत्यक्षदर्शीले जनाएका छन् । सिस्टमले काम नगरेपछि उक्त गाडी नमोडिएको र  ब्रेक पनि नलागेको जनाइएको छ ।

उक्त गाडी पूर्वरक्षामन्त्री एवं नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानकी श्रीमतीले चलाइरहेकी थिइन् । २० वर्षदेखि सवारी चलाउँदै आएकी प्रधानकी श्रीमती विद्या भण्डारी प्रधान यसअघि कुनै पनि दुर्घटनामा नपरेको समेत जनाइएको छ । विमानस्थल जस्तो संवेदनशील स्थानमा हरेक चालकले सचेत भएर गाडी चलाउने र त्यसैमाथी २० वर्षदेखि गाडी चलाइरहेको व्यक्तिले सुरक्षा संवेदनशीलतालाई पालना गर्ने बताउँदै पक्कै पनि गाडीमै प्राविधिक समस्या रहेको एक प्राविधिक बताउँछन् ।

उक्त घटनाका बारेमा पूर्वरक्षामन्त्री प्रधानले आफैं गाडी आयातकर्ता प्यारामाउन्ड मोटर्सका सञ्चालक एवं उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारकासँग कुरा गरे पनि अहिलेसम्म कम्पनीका तर्फबाट कुनै प्रतिक्रिया नदिएको र मुरारकाले भेट्न  आउनले जनाए पनि नआएको जनाएका छन् ।

एमजी ब्रान्डको गाडी यसअघि गत पुसमा चार्जमा राखिएकै अवस्थामा आगलागी भएको थियो । बुढानीलकण्ठको एक घर नजिर्क पार्किङमा राखेर चार्ज गरिरहेको अवस्थामा गाडीमा एकाएक आगलागी भएपछि कम्पनीले उक्त घटना गुपचुप बनाउने प्रयास गरेको थियो । तर, पछि उक्त घटना बाहिर आएको थियो ।

यसरी पटकपटक प्राविधिक समस्या देखिइरहेको एमजी ब्रान्डका उक्त घटनाका बारेमा प्यारामाउन्ट मोटर्सले भने यस विषयमा बोल्न नचाहाँदै कम्पनीका तर्फबाट आन्तरिक अध्ययन र प्राविधिक परिक्षण गरिरहेको जनाएको छ ।

प्रतिक्रिया