१२० मिटर टाढाबाट २० वर्षीय युवकले हानेका थिए ट्रम्पलाई गोली , ‘एआर–१५’ राइफल बरामद


काठमाडौं- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । पेन्सिलभेनियामा चुनावी र्‍यालीमा शनिबार राति ट्रम्पको चुनावी र्‍याली चलिरहेका बेला गोली लाग्दा घाइते भएका छन् ।

घटनामा र्‍यालीमा सहभागी एक जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् । ट्रम्प घाइते भएसँगै उनलाई मञ्चबाट हटाइएको थियो ।

गोली चलाउने व्यक्ति र अर्का एक दर्शकको मृत्यु भएको बताइएको छ । आक्रमणकारीको पहिचान पेन्सिल्भेनियाको बेथेल पार्कका २० वर्षीय थोमस म्याथ्यू क्रुक्सको रूपमा गरिएको छ। बेथेल पार्क बटलरको ४० माईल दक्षिणमा अवस्थित छ। घटनास्थलबाट एआर–१५ सेमी अटोमेटिक राइफल बरामद भएको छ । अमेरिकी गुप्तचर सेवाले जवाफी कारबाही गर्दा आक्रमणकारीको टाउकोमा गोली लागेको थियो र उनको घटनास्थलमै मृत्यु भएको थियो।

बन्दुकधारी ट्रम्पले भाषण गरिरहेको मञ्चबाट करिब १२० मिटर टाढा एउटा निर्माण कम्पनीको छतमा उभिरहेका थिए । उनले ट्रम्पलाई निशाना बनाएर त्यहाँबाट गोली हाने । डोनाल्ड ट्रम्पको ओपन-एयर अभियान  बटलर फार्म शोग्राउन्डमा आयोजित गरिएको थियो ।

डोनाल्ड ट्रम्प जहाँ उभिएर भाषण दिइरहेका थिए, त्यसको ठीक पछाडि अर्को संरचना (कम्पनीको गोदाम जस्तो) थियो । जसमा अमेरिकी सिर्केट सर्विसको काउन्टर स्नाइपर टोली तैनाथ थियो । आक्रमणकारीले गोली चलाउनेबित्तिकै काउन्टर स्नाइपर टोली सक्रिय भयो र करिब २०० मिटर टाढाबाट जवाफी कारबाही गर्दा उनको मृत्यु भयो ।

आक्रमणकारीको शव भेटिएको भवन एजीआर इन्टरनेशनल कम्पनीको हो । यो कम्पनीले गिलास र प्लास्टिक प्याकेजिङ्ग उद्योगलाई स्वचालित उपकरण आपूर्ति गर्दछ ।

अमेरिकी मिडियाका अनुसार आक्रमणकारीले एकपछि अर्को गर्दै १० राउण्ड फायर गरेका थिए, जसमध्ये एउटा डोनाल्ड ट्रम्पको दाहिने कानमा लागेको थियो ।

प्रतिक्रिया