इन्गेजमेन्ट भइसकेकी प्रेमिकाले धोका दिएपछि आफैंलाई गोली हानेका थिए अजितले


काठमाडौं– बुधबार बिहान संघीय संसद भवनमा कार्यरत् नेपाल प्रहरीका जवान अजित गोलेले आफैँलाई गोली हानेर आत्महत्या गरेका थिए । प्रहरीको विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत २२ वर्षीय गोलेले पारिवारिक तनावकै कारण आफूलाई गोली हानेकोे प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

विदेशमा रहेकी प्रेमिका सम्पर्कविहीन भएका कारण गोले केही दिनयता तनावमा रहेको आफन्तहरुले बताएका छन् । उनले युवतीकै कारण आत्महत्या गरेको हुनसक्ने परिवारिक स्रोतले बताएको छ ।

दोलखा मेलुङ गाउँपालिका–४ घर भएका गोलेले आफ्नै खर्चमा केही समयअघि प्रेमिकालाई वैदेशिक रोगजारीका लागि दुबई पठाएका थिए । तर, उता गएपछि प्रेमिका विस्तारै सम्पर्कविहीन हुँदा गोले तनावमा रहेको मेलुङ–४ का वडाध्यक्ष सोमबहादुर बम्जन (लामा)ले बताए ।

उनकी प्रेमिकालाई परिवारसँगै चिनजानसमेत गराइसकेका थिए । प्रहरी जवान गोलेले पारिवारिक सहमतिमा नै विवाह गर्ने योजना पनि बनाइसकेका थिए । उनीहरूको इन्गेजमेन्ट पनि भइसकेको जनाइएको छ ।

तर, उता गएपछि प्रेमिका सम्पर्कविहीन हुन थालेपछि पूरै परिवार तनावमा रहेको बताइएको छ । दुबई पुगेपछि प्रेमिकाले उनलाई वास्ता गर्न छाडेको भन्दै उनीहरुबीच विवाद हुने गरेको थियो । उक्त कुरा उनीहरुको मोबाइलमा भेटिएको म्यासेजबाट समेत पुष्टि भएको अनुसन्धानमा संलग्न एक अनुसन्धान अधिकृतले जानकारी दिए ।

गोले संसद् भवनको पश्चिमपट्टिको २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए । बुधबार बिहान ८ बजे उनी मृत भेटिएका थिए । उनले आफैँले बोकेको राइफलले निधारमा फायर गरेको देखिएको प्रहरीले बताएको छ ।

प्रहरी अधिकारीहरुका अनुसार उनी घर वा अरु कसैलाई फोन गरिरहेका थिए । फोन गर्दागर्दै विवाद भएपछि शौचालय छिरेका उनले आफैलाई गोली प्रहार गरेको पाइएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए ।

गोले २०७६ सालमा प्रहरी सेवामा जवानको रुपमा प्रवेश गरेका थिए ।

 

… र यो पनिः

प्रहरी जवान करिश्मा मृत्यु प्रकरणः प्रहरी जवान नै पक्राउ

 

प्रतिक्रिया