बैतडीकी शिक्षिकाको घरमा २ पुरुष पुगेपछि हत्या, २० हजार दिएर विद्यार्थीलाई फाल्न लगाइन् शव
काठमाडाैं- बैतडीको पाटन नगरपालिका- ६ का ५१ वर्षीय बिरभानसिंह बिष्टको हत्यापछि शव व्यवस्थापनमा विद्यार्थीलाई नै प्रयोग गरेको खुलेको छ । ट्रक चालक रहेका विष्टकाे हत्या गरेको आरोपमा बैतडी प्रहरीले ३६ वर्षीय शिक्षिका भागरथी विष्ट सहित दुई जना विद्यार्थीलाई पक्राउ गरेको छ । घटनामा संलग्न अर्का अटोरिक्सा चालकको खोजी भइरहेको छ ।
पक्राउ पर्ने विद्यार्थीहरु पाटन नगरपालिका–१, का १९ वर्षीय राजेन्द्र भट्टराई र २० वर्षीय किशोर भट्टराई पक्राउ परेका छन् ।
५१ वर्षीय बिरभान बिष्ट असारको १ गते देखि बेपत्ता भएका थिए । उनका आफन्तले सोमबार मात्रै प्रहरीमा उनी बेपत्ता भएको खबर गरेका थिए । आफन्तको उजुरीका आधारमा पक्राउ परेकी शिक्षिका भागरथीले दिएको प्रारम्भीक बयानका आधारमा प्रहरीले वीरभानको शव पनि फेला पारेको थियाे ।
विष्टको शव पाटन पञ्चेश्वर सडकखण्डअन्तर्गत पर्ने घानल खोलामा सोमबार दिउँसो सवा दुई बजे फेला परेको थियो । स्थानीय र प्रहरीले खोजी कार्य गर्दा बिष्टको हत्या गरी प्लाष्टिकले बेरेर फालेको अवस्थामा शव फेला परेको थियो ।
विष्टको हत्या महिलाको घरमा भएको खुलेको छ । हत्या हुनुअघि ट्रक चालक वीरभान विष्ट शनिवार राति महिलाको घरमा पुगेको देखिएकाे छ । केही समयपछि अटोरिक्सा चलाउने युवा पनि महिलाको घरमा गएको खुल्न आएको प्रहरीले जानकारी दिएको छ । दुई जना पुरुष र महिलाबिच भनाभन हुँदा वीरभान विष्टको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
महिलाले दिएको बयान अनुसार शव ओसार्ने काममा पाटनमा डेरा गरी पढ्दै आएका दुई जना विद्यार्थीको प्रयोग भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । शिक्षिकाले मोटरसाइकलमा शव लैजान २० हजार रुपैयाँ दिएको खुलेको छ । आइतबार राति प्लास्टिकमा बेरेर फालिएको शव दिनभरी भागरथीकै घरमा थियो ।
आरोपित शिक्षिकालाई प्रहरीले सोमबार बिहान घरबाटै पक्राउ गरेको हो भने घटनापछि बैतडीबाट फरार भएका दुई जना युवा राजेन्द्र भट्टराई र किशोर भट्टराईलाई डोटीको गैराबाट पक्राउ गरेको छ । घटनामा संलग्न अर्का युवा पाटन नगरपालिका–६,का अटो रिक्सा चालक आशिष पहरीको खोजी भइरहेको प्रहरीले बताएको छ ।
भागरथीका श्रीमानको १० वर्ष अघि नै मृत्यु भइसकेको थियो । उनी एकल भएपछि सहस्रलिङ्ग आधारभूत विद्यालयमा राहत शिक्षिका पेशामा थिइन् । उनकाे घरमा एक बालक अपाङ्ग छन् भने अर्का ८ कक्षामा पढ्दै आएका बालक छन् ।