रेशम–रञ्जिताबीच बलेको आगो निभाउने विकास


काठमाडौं– नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद शान्त हुने छाँटकाँट देखिएको छ । शनिबार काठमाडौंको ठमेलमा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र संरक्षक रेशम चौधरीबीच छलफलपछि भएको थियो । सोही छलफलपछि दुवैले सामाजिक सञ्जालबाट माया प्रकट गरेका छन् ।

दुवैले त्यहाँ कफी पिएपछि रञ्जिताले फेसबुकमा ‘लभ यू राजा’ भन्दै रेशमसँगको तस्बिर राखेकी थिइन् । ‘मेरो परिवारप्रति चिन्ता र चांसो गर्नु हुने सम्पूर्णप्रति हार्दिक आभार । परिवारमा कुनै समस्या छैन । समस्या छ त तपाईंहरूको दैद्द चरित्र अनि व्यवहारमा । लभ यू राजा’ उनले लेखेकी थिइन् ।

त्यसपछि पुन अर्को पोष्ट राख्दै उनले रेशम–रञ्जितालाई छुटाउन गाह्रो हुने बताएकी थिइन् । उनले लेखेकी थिइन्, ‘नागरिक उन्मुक्ती पार्टी जसको हो, उसैको हौं । कसैले धेरै खेल्न नखोजे हुन्छ । रेशम–रन्जितालाई छुटाएर कसैको केही हुँदैन ।

रञ्जिता मात्रै होइन हिजोको भेटपछि रेशमले पनि पनि पत्नीसमेत रहेकी अध्यक्ष श्रेष्ठसहितको फोटो फेसबुकमा राख्दै पार्टी र सरकार दुवै अध्यक्ष श्रेष्ठलाई चलाउन आग्रह गरेको उल्लेख गरेका छन् । संरक्षक चौधरीले आफ्नो पार्टीले लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने पनि बताएका छन् । उनले लेखेका छन्, ‘महासचिव ठाकुरसिंह थारुलाई साक्षी राखेर पार्टी र सरकार दुवै तिमी चलाउ भन्ने रन्जिताको आग्रहलाई स्विकार गर्दै मैले पनि यो फोटो पोष्ट गरें । हामी छिट्टै लुम्बिनी र सुदुर पश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौं ।’

केही समयदेखि दुवैको सम्बन्धमा दरार आएको कुराले सामाजिक सञ्जाल तात्ने गरेको थियो । दुवैको झगडा अदालत प्रवेश गरिसकेका बेला अचानक उनीहरुबीच कसरी कुरा मिल्यो त ? उनीहरुको झगडा मिलाउने ‘सूत्रधार’ विकास गौतम हुन् । निर्माण व्यवसायी एवम् मोतीदान कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक गौतमले हिजो ठमेलमा दुवैबीच छलफल गराएर द्वन्दलाई प्रेममा परिणत गरेको बताइएको छ ।

२०८० पुस २६ गते टीकापुरमा पार्टीको महाधिवेशन भएको थियो । निर्वाचनमा रञ्जिताको अध्यक्षमा दोओरिने मन हुँदाहुँदै पनि रेशमले अध्यक्षमा एकल उम्मेदवारी दिए । त्यही दिन रञ्जिता महाधिवेशन स्थल छाडेर हिँडिन् । लामो प्रयासपछि जेलबाट छुटाएकी पतीले नै उनको कुर्सी खोसेपछि उनी बिच्किएकी थिइन् ।

टीकापुरको पहिलो महाधिवेशनबाट रेशम निर्विरोध अध्यक्ष चयन भए । महाधिवेशन स्थलमा रञ्जिता नभए पनि उनलाई सहअध्यक्ष मनोनीत गरिएको थियो । तर, अध्यक्ष बन्न चाहेकी उनी रिशाइन् ।

महाधिवेशनपछि रिसाएकी रञ्जिताले केन्द्रमा पुष्पकमल दाहालको गठबन्धन सरकार र सोही अनुरुप बन्ने प्रदेश सरकारहरुमा पनि समर्थन गर्नुपर्ने अडानमा लिएकी थिइन् । तर उनका श्रीमान् भने नवगठित सरकारलाई समर्थन गर्न नहुने अडानमा थिए ।

प्रचण्डले नाउपाका नेता–कार्यकर्ता रिहाइका लागि पहल गरेकाले उनलाई साथ दिनुपर्ने रन्जिताको अडान थियो । भने, कसैले कृपाले राजबन्दी रिहा नभइ २ लाख ७८ हजार जनताको भोट आफूहरु रिहा भएकाले सरकारलाई समर्थन नगनुपर्ने रेशमको अडान थियो ।

दुवै आफ्नो अडानमा रहँदा केन्द्रमा रञ्जिताले प्रधानमन्त्रीलाइै विश्वासको मत दिइन् । भने उता पार्टी अध्यक्ष रञ्जिताले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएको समर्थन फिर्ता लिन दिएको निर्देशन रेशमले मानेनन् । रेशमले ३ जनालाई शाहकै सरकारमा शपथ खुवाउन लगाइदिए ।

तर, उनले सहयोग गरेको शाह सरकार ढल्यो । विश्वासको मत दिन नसकिने भएपछि कमल शाहले चैत २२ गते राजीनामा दिएका थिए । अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीचको विवादले नाउपा विभाजित भएका कारण उनले विश्वासको मत आउने बाटो देखेका थिएनन् ।

त्यसपछि सुदूरपश्चिममा नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षका सदस्य र स्वतन्त्र सांसद डा. तारा जोशीका समर्थनमा दाबी पेश गर्दै नेकपा एकीकृत समाजवादीका दिर्घ सोडारी मुख्यमन्त्री बने । सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै रेशम पक्षका लक्ष्मण चौधरी पनि सर्वोच्च पुगे ।

रेशमले पार्टी अध्यक्षको पद पुर्नवहाली गर्न हालेको रिट खारेज गर्न रञ्जिताले माग गरेकी थिइन् । उनले अदालतले मागेको जवाफ ११ बुँदामा दिँदै फौजदारी अभियोग लागेको व्यक्ति, टीकापुर घटनाका मुख्य अभियुक्त, नैतिक पतन भएका व्यक्ति, त्यस्ता व्यक्ति राजनीतिक दलको सदस्यसमेत हुन नपाउनेलगायत जवाफ पेससमेत गरेकी थिइन् ।

यो पनि:

रञ्जिताको ‘थाइकट’ कपालमा मोहित भएका रेशमको ‘लभलाइफ’मा कसरी आयो दरार ?
नाउपाको घरझगडाले मिडिया तातेको बेला रेशमलाई लिन एयरपोर्टमै पुगिन् रञ्जिता, ‘हग’ गरेर स्वागत
नागरिक उन्मुक्तिको बैठकमा रन्जिता र रेशम पक्षबीच हात हालाहाल
‘सासू ज्यू सासू खायो मेरो मासु हजुरकै नक्कली छोरीले’

थारु मुक्तिका लागि हिँडेका पती–पत्नीबीच ‘इगो’को लडाईं, नेता-कार्यकर्ता तितरवितर

 

प्रतिक्रिया