

पत्रकार योगीको ‘ऐना हेरी हेरी’

काठमाडौं – गायक तथा संगीतकार भीम बिसीको ‘ड्रिम प्रोजेक्ट’का रुपमा रहेको ‘ऐना हेरी हेरी’ गीतको भिडियो छायाँकन सकिएको छ। गीतका शब्द लेखक तथा पत्रकार शिवराज योगीका हुन्। भीम बिसीकै संगीत रहेको गीतमा आवाज पछिल्लो समयकी चर्चित गायिका एलिना चौहान र भीम बीसीले दिएका छन्।
प्रविन भट्टले निर्देशन गरेको भिडियो निर्माणको अन्तिम चरणमा रहेको गायक तथा संगीतकार बिसीले बताए। गीतको भिडियो अजय रेग्मीले छायांकन गरेका हुन भने गीत एरेन्ज विश्व अधिकारीले गरेका छन्।
सरोज बुढाथोकीको ऋङगार र कुशुम श्रेष्ठको पहिरन रहेको गीतको भिडियोको सहायक निर्देशन सागरबाबु भट्टले गरेका छन्। भीम बीसीको आफ्नै युटुब च्यानलबाट भीम बिसी अफिसियलबाट सार्वजनिक गर्ने तयारी गरिएको गीतमा विदेशमा रहेर स्वदेशमा रहेका आफन्तको सम्झनाको कथा समेटिएको छ।
पछिल्लो समय एकपछि अर्को हिट गीत दिँदै आएका भीम बीसीले यसअघि ‘झम्क्या बुलाकी’, ‘झुमा झुमा’, ‘एक कान दुई कान मैदान’, ‘निरमाया’, ‘पावरवाला चश्मा’, ‘टालाटुली बाटुली’लगायत दर्जन गीत लाखौँ स्रोता–दर्शकले हेरेका छन् भने कतिपय गीत करोड क्लबमा परेका छन्।

