सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट


काठमाडौँ – गत असार २८ गते मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारको मोबाइलमा ‘सुसाइड नोट’ भेटिएको छ । ताम्राकारको साथबाट भेटिएको उनको मोबाइल परीक्षण गर्दा नोट फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीले बताए ।

झण्डै एक पाना लामो नोटमा उनले साथीहरु र परिवारलाई पनि सम्झिँदै सबै गल्ती आफ्नै भएको बताएका छन् । ‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु’, उनको नोटलाई उधृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो । लेट मि रेष्ट इन पिस, धन्यवाद ।’

प्रहरीले ताम्राकारको मोबाइल परीक्षणका लागि प्रहरी प्रधान कार्यालय स्थित डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो । फरेन्सिक ल्याबबाट आएको रिपोर्टको आधारमा थप अनुसन्धान गर्ने एसएसपी कार्कीले जनाकारी दिए ।

३१ वर्षीय अभिनेता सारुक रातोपुल स्थित घरमा असार २८ गते राति ११ बजे खानेपानीको पाइपमा झुुन्डिएको अवस्थामा उनी भेटिएका थिए । विवाहमा गएर फर्केका परिवारका सदस्यहरूले ढोका खोल्न आग्रह गर्दा ढोका नखुलेपछि करिब ३ घण्टापछि स्थानीयको सहयोगमा परिवारका सदस्यहरू भित्र पसे । घरभित्र सारुक मृत देखेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

डिजिटल फरेन्सिक ल्याबमा प्राविधिक जनशक्ति थोरै भएको हुनाले फरेन्सिक जाँच रिपोर्ट ढिला आएको प्रहरीको भनाइ छ । मोबाइलको रिपोर्टको आधारमा फोन सम्पर्क र म्यासेज विश्लेषण गरेर उनीविरुद्ध दुरुत्साहन भएको थियो कि थिएन भन्नेबारे ‘विश्लेषण’ गरिने अनुसन्धानमा संलग्न एक जना अधिकृतले बताए । सारुकले चलचित्र ‘ह्यासट्याग माया’ मा अभिनय गरिरहेका थिए ।

 

प्रतिक्रिया